images
images
  • भारतमा बग्ने ब्रह्मपुत्रको तीब्बततर्फ ७० हजार मेगावाटको जलाशय बनाउँदै चीन, तनावमा भारत

    काठमाडौं – चीनले फेरि एकपटक तिब्बतबाट भारततर्फ बग्ने ब्रह्मपुत्र नदीमा पृथ्वीकै सबैभन्दा ठूलो बाँध बाँधेर ७० हजार मेगावाट क्षमताको एउटै जलविद्युत आयोजना बनाउने घोषणा गरेको छ ।

    तिब्बतमा ‘यारलुङ साङ्गपो’ नामले चिनिने उक्त नदीमा चीनले शक्तिशाली बाँध बाँधेर हाल चीनमै सञ्चालनमा रहेको २२ हजार ५०० मेगावाट क्षमताको विश्वकै ठूलो जलविद्युत आयोजना ‘थ्री गर्जेज’भन्दा तीनगुणा ठूलो जलविद्युत आयोजना बनाउने घोषणा दोहोर्‍याएको हो ।

    चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीन सरकारले त्यसका लागि १३७ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । विशेषज्ञहरुका अनुसार यो बाँध पृथ्वीकै सबैभन्दा ठूलो हुने अनुमान छ । थ्री गर्जेजभन्दा कति ठूलो बाँध हुन्छ भन्ने कुरा नखुले पनि उक्त आयोजनाभन्दा सबै हिसाबले यो आयोजना करिब तीन गुणा ठूलो हुने अनुमान गरिएको छ ।

    यारलुङ नदीको बाँध निर्माण कहिलेदेखि सुरु हुन्छ र ठ्याक्कै कहाँनेर बन्छ भन्ने अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर यो बाँध चीन–भारतको सीमा क्षेत्र नजिकको भूकम्प गइरहने र बढी वर्षा हुने क्षेत्रमा बन्ने अनुमान छ ।

    चिनियाँ अधिकारीहरुका अनुसार यहाँ बाँध बाँधेर वार्षिक ३०० अर्ब युनिट बिजुली उत्पादन गरिने छ । चीनको थ्री गर्जेज बाँधबाट वार्षिक करिब १०० अर्ब युनिट बिजुली उत्पादन हुँदै आएको छ ।

    भारत र बंगलादेशको टाउको दुखाई

    बाँध बनाउन लागिएको यारलुङ साङ्गपो नदी तिब्बतको पठार हुँदै भारत प्रवेश गर्दछ । यो नदी अरुणाचल प्रदेश र आसाम हुँदै बंगलादेश पुग्छ । भारतमा यो नदीलाई ब्रह्मपुत्र र बंगलादेशमा पद्मा नदीको रुपमा चिनिन्छ ।

    त्यसैले चीनले यारलुङ नदीमा बनाउने बाँधबाट भारतको उत्तर पूर्व राज्य र बंगलादेश समेत प्रभावित हुने आशंका कतिपयको छ । यसले नदी तटीय क्षेत्र प्रभावित हुने अनुमान समेत गरिन्छ । तर चिनियाँ अधिकारीहरुले यसबाट कसैलाई कुनै प्रकारको हानि नहुने दाबी गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images