काठमाडौं – देशभर रहेका ७५३ मध्ये अधिकांश स्थानीय तहका वेबसाइटहरु डाउन भएका छन् । स्थानीय तहका वेवसाइटहरु हिजैदेखि डाउन हुन थालेकामा लगभग सबैजसो वेवसाइटहरु डाउन भएका हुन् ।
काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट भनेको चलेको छ । तर काठमाडौं उपत्यकामै पर्ने ललितपुर महानगरपालिकाको वेवसाइट भने डाउन छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार प्राविधिक कारणले स्थानीय तहका वेबसाइट चल्न नसकेका हुन् । ‘यस वेबसाइटको मर्मत कार्य जारी छ। हामी एकछिन पछि फर्कने छौं’ गाउँपालिकाहरूको वेबसाइटमा यस्तो भनिएको छ ।
के कारणले साइट नचलेको हो भनेर प्राविधिक चेकजाँच भइरहेको र छिट्टै समस्या समाधान गर्न मन्त्रालयको प्राविधिक टोली खटिरहेको प्रवक्ता पराजुलीले बताए ।
वेबसाइट नचल्दा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूसमेत असर परेको छ ।




















