पोखरा- रास्वपा सभापति रवि लामिछानेसहित पाँच जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ।
रविसहित पूर्वडीआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीबी राईका साझेदार नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरूङलाई अदालत उपस्थित गराइएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेका उनीहरुको बयान हुनेछ
उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ। कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय हुनेछ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगीमा आइतबार मात्र लामिछानेसहित ४४ विरुद्ध मुद्दा चलाएको थियो। त्यसअघि १९ जनाविरुद्ध पुरक मुद्दा गएको थियो। सहकारीको डेढ अर्ब ठगी आरोप छ।






















