images
images
  • थोरै सङ्ख्यामा पशुपालेरै मासिक एक लाख बढी आम्दानी

    गलकोट यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए ।

    मलेसियामा १२ वर्ष बिताएका भएकाले ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भएको छ ।

    सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरे उनले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने ।

    बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन् ।

    उनको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन् । ढकालको फार्ममा हुर्कँदै गरेका चारवटा पाडी छन् ।

    दूध बेचेर मासिक रु एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए। गत वर्ष मात्र रु १७ लाख बढी आम्दानी भएको उनले जानकारी दिए । दूधमात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ ।

    प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेका छन् । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन् ।

    प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ ।

    पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएका। परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उनले बताए छन् । रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images