images
images
  • छ महिनामै बन्यो ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’

    झापा – शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुलनिर्माण भएको छ । सङ्घीय सरकारको रु पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो ।

    बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ ।

    सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताका अनुसार विसं २०८१ जेठ २४ गते उक्त पुलको निर्माण सम्झौता भएको थियो ।

    सम्झौतामा निर्माण अवधि विसं २०८३ जेठ २३ गतेसम्म तोकिएको थियो ।

    सम्झौता भएको एक महिनापछि विसं २०८१ असार २४ मा सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त झोलुङ्गे पुलको शिलान्यास गरेका थिए । निर्माणको ठेक्का लिएको कम्पनीले शिलान्यास भएको पाँच महिना र सम्झौता भएको छ महिनामै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको हो ।

    “निर्माण व्यवसायी पक्षले निर्माण कार्य सम्पन्न गरिसकेको छ”,उनले भने, “सरकारी तहबाट अन्तिम परीक्षण हुन बाँकी छ । चाँडै अनुगमन गरेर पुलको हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।”

    दुई वर्षमा बनिसक्ने भनिएको झोलुङ्गे पुल छ महिनामै निर्माण भएको देखेर आफू चकित भएको बुद्धशान्ति –६ का शिवराज पौडेल बताए ।

    उनले भने “हिजोअस्तिजस्तो लाग्छ पुलको शिलान्यास भएको, ठेकेदारले यति छिटो काम सम्पन्न गर्लान् भनेर कल्पना समेत गरिएको थिएन ।”

    मङ्सिरको अन्तिम सातादेखि पुलबाट सर्वसाधारणले आवतजावत गर्न थालिसकेका छन् ।

    प्रदेशकै लामो पुल भएकाले घुम्न, हेर्न र फोटो भिडियो खिच्न युवायुवती आउन थालेकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ ।

    पुल बन्नुअघि बुद्धशान्तिको वडा नं ६ बाट ७ मा जान स्थानीयवासीले सकस भोग्दै आएका थिए ।

    पुल बनेपछि बुद्धशान्तिका वडावासीलाई आउजाउका लागि मात्र नभएर इलामको रोङ गाउँपालिका वडा नं ५ र ६ का बासिन्दालाई आफ्नो कृषिउपज झापाको बजारमा पुर्याउन सुविधा पुगेको वडाध्यक्ष पौडेलले बताए ।

    भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्तीको गुनासो आउने पाइन्छ । तर, सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाइ अवधिमै पुलको निर्माण सम्पन्न भएकोमा स्थानीयवासी खुसी रहेको पौडेल बताए ।

    ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डि–टाइप’को झोलुङ्गे पुल रहेको इन्जिनियर गुप्ताले बताए ।

    सिराहामा निर्माण भएको एक हजार पाँच सय मिटर लामो झोलुङ्गे पुलसमेत सोही निर्माण व्यवसायीले तोकिएको समयअगावै बनाएको उनले जानकारी दिए ।

    “निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमान्दारीमा निर्भर हुन्छ”, उनले भने, “अटेरी प्रवृत्तिका कारण कतिपय काम ढिलो हुन्छन् । ठेकेदारले चाहे भने १८ महिना लाग्ने काम चार महिनामै पनि पूरा गर्न सक्छन् ।” रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images