काठमाडौं-प्रभु बैंकका ठूला सेयरधनीले बैंकमा रहेको स्वामित्व घटाउने रणनीति बनाएका छन् । प्रभु बैंकका पूर्वअध्यक्ष तथा प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टचन परिवारले बैंकमा रहेको सेयर बिक्री गरेर विस्तारै बैंकबाट बाहिरिने रणनीति बनाएको देखिन्छ ।
गत वर्ष पनि पनि केही सेयर बिक्री गरेको भट्टचन परिवारले यस पटक पनि ठूलो परिमाणको सेयर बिक्रीमा राखेको छ । बैंकका ठूला सेयरधनीले नै सेयर बिक्रीका लागि राखेका छन् । प्रभु ग्रुपको समेत लगानी रहेको बैंकमा भट्टचनका परिवारको समेत ठूलो लगानी छ ।बैंकका ठूूला सेयरधनी राजेन्द्र भट्टचन, शिक्षा भट्टचन, सची भट्टचन र अम्बिका शर्मा लामिछानेले बैंकको सेयर बिक्री गरेर बाहिरिने तयारी थालेका हुन् ।
बैंकका अनुसार राजेन्द्र भट्टचनले १२ लाख ६९ हजार १ कित्ता, शिक्षा भट्टचनले ७ लाख ३३ हजार ७०६ कित्ता, सची भट्टचनले ६ लाख ७२ हजार ४२१ कित्ता सेयर बिक्रीमा राखेका छन् । शिक्षा भट्टचन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्ष पनि हुन् । यस्तै, अम्बिका शर्मा लामिछानेले ५ लाख कित्ता सेयर बिक्रीमा राखेकी छन् । उनी बैंकको छैठौं ठूलो सेयरधनी समेत हुन् ।
बैंकका अनुसार उनको ०.६० प्रतिशत अर्थात् १४ लाख ९ हजार ५३४ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुनिल मान शेरचनले १९ हजार ९९२ कित्ता, शकुन्तला श्रेष्ठ प्रधानले २१ हजार ८३४ कित्ता, सरस्वती सुब्बा देवानले ३९ हजार ९५८ कित्ता र केशब तुलाधरले ३३ हजार ४०५ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापकले आवेदन नदिए सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, राजेश श्रेष्ठले ४३ हजार २३५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीले १६ हजार ७०६ कित्ता, तारा प्रसाद पोख्रेलले १९ हजार ७०२ कित्ता, सनिदेव सप्लायर्स प्रालिले ३९ हजार ४१५ कित्ता र राजेन्द्र मान सिंह बस्नेतले १६ हजार २४३ कित्ता सेयर बिक्रीमा राखेका छन् ।
उक्त सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने छन् । बैंकको सञ्चालक समितिमा नरहेको व्यक्तिले सेयर बिक्री गर्न पाउने व्यवस्था छ । सञ्चालक समितिबाट बाहिरिएको एक वर्षमै सेयर बिक्री गर्न पाउने व्यवस्था छ ।
यस कारण छोडदैछन् प्रभु बैंकका संस्थापक देवीप्रकाश भट्टचन

पछिल्लो १० वर्ष बैंकिङ व्यवसायमा आक्रामक लगानी विस्तार गरेका व्यवसायी देवी प्रकाश भट्टचन बैंकिङ क्षेत्रबाट बाहिरिने निष्कर्षमा पुगेका छन् । बैंकिङ क्षेत्रले अत्यन्तै कम प्रतिफल दिएको र सञ्चालक समितिमा बस्दा बढी जोखिम हुने भएकाले आफू धमाधम सेयर बिक्री गरिरहेको भट्चनले सुनाए ।
सांसदसमेत रहेका भट्टचनले प्रभु बैंकमा रहेको ठूलो मरिमाणको संस्थापक सेयर बिक्री गरेका छन् । प्रभु बैंकको पूर्वअध्यक्षसमेत रहेका भट्टचनले १ करोडभन्दा बढी कित्ता सेयर बिक्री गरेर बाहिरिएका हुन् ।
उनले बेचेकोमध्ये धेरै सेयर एशियन लाइफ इन्स्योरेन्स र त्यससँग आवद्ध व्यक्तिहरुले किनेका छन् । त्यसबाहेक अरुले पनि किनेका छन् । पछिल्लो समय एशियन लाइफ इन्स्योरेन्स आक्रामकरुपमा व्यवसाय विस्तारमा लागेको छ । हालैमात्र यो कम्पनीले यति एयरलाइन्सको ४९ प्रतिशत स्वामित्व किनेको थियो । बैंकबाट अपेक्षित प्रतिफल नपाएपछि आफूले सेयर बिक्री गरेको भट्टचनले सुनाए ।
‘राम्रो प्रतिफल नपाएपछि मैले प्रभु बैंकमा रहेको १ करोडभन्दा बढी कित्ता सेयर बिक्री गरेको भट्टचनले बताए । अब प्रभु बैंकमा उनको र समूहको गरी १ करोड कित्ताको हाराहारीमा संस्थापक सेयर छ ।
सबै मर्जर र प्राप्तिको नेतृत्व अध्यक्षका रुपमा उनै भट्टचनले गरेका थिए । मर्जर तथा एक्विजिशनमा निकै आक्रामक देखिएका भट्टचन पछिल्लो समय बैंकले दिएको प्रतिफलबाट सन्तुष्ट नभएका हुन् । आफूले विभिन्न समयमा प्रतिकित्ता १२१ देखि २०० को बीचमा सो परिमाणको सेयर बिक्री गरेको उनले जानकारी दिए ।
‘बीमा र लघुवित्त कम्पनीको साधारण सेयरको मूल्य १०००/१२०० हुँदा पनि वाणिज्य बैंकको सेयर १००/२०० रुपैयाँमात्रै रहेको र प्रतिफलका हिसाबले पनि बैंकहरुको प्रफर्मेन्स कमजोर रहेपछि मैले लगानी डाइभर्ट गरेको हुँ,’ भट्टचनले भने, ‘हामी लगानीकर्ताले खोज्ने सुरक्षित प्रतिफल हो ।’ बैंकको सञ्चालक बस्दा बढी जोखिम हुने गरेको पनि उनले सुनाए ।
‘बैंकको सञ्चालक बस्नु भनेको जोखिम बढी छ, यति ठूलो जोखिम मोल्दा पनि प्रतिफल भने अरु क्षेत्रकोजस्तो नभएपछि मैले बैंकमा रहेको आफ्नो लगानी घटाउँदै लगेको हुँ,’ उनले भने ।नेपाल इन्भेष्टमेन्ट, प्रभु र प्राइम बैंकका सेयरधनीले लाभांश नपाउने पछिल्ला ६ वर्षमा प्रभु बैंकले औषतमा साढे ९ प्रतिशतमात्रै लाभांश दिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ८.४२ प्रतिशत लाभांश दिएको बैंकले २०७५/७६ मा १६.८४, २०७६/७७ मा १०.५२, २०७७/७८ मा १२.६३ र २०७८/७९ मा ८ प्रतिशत लाभांश दिएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले यो वर्ष १ प्रतिशत पनि लाभांश दिने क्षमता राख्दैन ।
सन् १९९० मा प्रभु ट्राभलबाट व्यवसाय सुरु गरेका भट्टचन बैंक, बीमा, कार्गो, हेलिकप्टर, इन्भेष्टमेन्ट कम्पनी, वालेट बिजनेश, टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायकलगायतका व्यवसायमा आवद्ध छन् ।
उनले २००१ मा प्रभु फाइनान्स र प्रभु इन्भेस्टमेन्ट कम्पनी स्थापना गरेका थिए। प्रभु फाइनान्स विभिन्न संस्था गाभेर विकास बैंक बनेको थियो । २०७१ भदौ ३० गते प्रभु विकास बैंकले तत्कालीन किष्ट बैंकलाई गाभेर प्रभु बैंकको रुपमा एकीकृत कारोबार गरेको थियो ।
‘क’ वर्गको किष्ट बैंक, ‘ख’ वर्गको राष्ट्रियस्तरको प्रभु विकास बैंक, क्षेत्रियस्तरको गौरीशंकर विकास बैंक र ‘ग’ वर्गको जेनिथ फाइनान्स गाभिएर प्रभु बैंक बनेको थियो ।
२०७१ माघ १५ गते तत्कालीन ग्राण्ड बैंक प्राप्ति गर्ने सम्झौता गरेको प्रभु बैंकले सम्झौता बमोजिम २०७२ सालमा किन्यो पनि । साथै, प्रभुले खारेजीमा गएको नेपालकै पहिलो विकास बैंक नेपाल विकास बैंकलाई पनि प्राप्ति गरेको थियो ।
यी सबै मर्जर र प्राप्तिको नेतृत्व अध्यक्षका रुपमा उनै भट्टचनले गरेका थिए । मर्जर तथा एक्विजिशनमा निकै आक्रामक देखिएका भट्टचन पछिल्लो समय बैंकले दिएको प्रतिफलबाट सन्तुष्ट नभएका हुन् । २०७७ पुस २७ गतेदेखि भट्टचनले बैंकको सञ्चालक समितिमा बसेका छैनन् ।
‘अहिले बैंकिङ यस्तो भयो कि संस्थापक सेयरधनीलाई खासै लाभ छैन,’ उनले भने, ‘प्रभु बैंकको सेयर बच्ने मेरो बिजनेश डिसिजन हो ।’ सन् २०१३ देखि २०१४ मा प्रभु बैंक, प्रभु इन्स्योरेन्समा उनले लगानी विस्तार गरे। सन् २०१५ मा प्रभु हेलिकप्टर सञ्चालनमा ल्याएका उनले सन् २०१७ मा प्रभु लाइफको स्थापना गरे।
सन् २०१६ यता उनले प्रभु पे, प्रभु टिभी, नेपाल सिपिङ लाइन सञ्चालनमा ल्याए। उनी डिसहोमका अध्यक्ष पनि हुन् । २०७४ को चुनावमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद सूचीमा परेका भट्टचन ०७९ को चुनावमा एमालेका तर्फबाट समानुपाति सांसद बनेका छन् । २०४८ सालमा बागलुङबाट जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएका भट्टचनलाई त्यही बेलादेखि राजनीतिको नशा लागेको हो ।


विश्व खबर 


















