images
images
  • विदेशी मुद्रा सञ्चिति २२ खर्ब नाघ्यो, ‘साढे ५ खर्ब रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगार बढ्यो’

    काठमाडौं । देशको ढुकुटीमा विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब नाघेको छ ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्म नेपालको खातामा २२ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ ।

    असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चित रहेकोमा पछिल्लो चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको हो ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड डलर पुगेको छ ।

    हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    चार महिनामा साढे ५ खर्ब रेमिट्यान्स 

    चालु आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

    सार्वजनिक वित्तीय स्थिति रिपोर्टअनुसार यो रेमिट्यान्स रकम गत आवको यसै अवधिको तुलनामा ९.१ प्रतिशतले बढी हो ।

    यो कात्तिक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । असोजमा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

    अमेरिकी डलरमा चार महिनामा ३ अर्ब ८७ करोड डलर रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड डलर रहेको थियो ।

    वैदेशिक रोजगारमा जानेको संख्या बढ्यो

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images