काठमाडौं – सहकारीको रकम हिनामिनाको आरोपमा पक्राउ परेका रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा लगिएको घटनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख खोलेका छन् ।
रवि पक्राउ परेको दुई महिना पुग्नै लाग्दासम्म शान्त बसेका प्रचण्डले चितवनबाट रातारात पोखरा लगिएको घटनामा भने मुख खोलेका छन् ।
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेमाथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको प्रचण्डले आरोप लगाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा गरेका छन्
फेसबुकमा उनले लेखेका छन्- ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’
काठमाडौंमा खबरदारी सभा गरेपछि माओवादीले चितवनमा पनि सरकार विरुद्ध खबरदारी सभा गर्दैछ । सम्भवत प्रचण्डले रविको मानव अधिकार हनन् भएको कुरा उक्त सभामा उठाउन सक्ने अनुमान गरिएको छ ।





















