images
images
  • वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको विशेष अदालतको निष्कर्ष, चार जना दोषी को को हुन् ?

    काठमाडौं – विशेष अदालतले नेपाल वायुसेवा निगमका दुई वटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । अदालतले चार जनालाई दोषी ठहर गरेको छ । ती सबै नेपाली नागरिक परेका छन् ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल वायु सेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाईलाई दोषी ठहर गरेको हो । तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायत अन्य कर्मचारीहरुले भने सफाइ पाएका छन् ।

    वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २२ चैत २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारले वाइडबडी प्रकरणमा १ अर्ब ४७ करोड रूपैयाँ हानि नोक्सानी भएको निष्कर्ष निकालेको थियो । अख्तियारले सबै ३२ आरोपितमाथि समान बिगो मागदाबी गरेको थियो । आरोपितमध्ये ७ जना सञ्चालक समितिका पदाधिकारी र १४ जना निगम कर्मचारी रहेका थिए ।

    वाइडबडी जहाज खरिद प्रक्रियामा बदनियत साथ काम गरेको आरोपमा तीन विदेशी नागरिकसहित पाँच कम्पनी र तिनका प्रतिनिधिविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो । अदालतले भने नेपाली नागरिकलाई मात्रै दोषी ठहर गरेको छ ।

    कसलाई कति सजाय ?

    नेवानिका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारलाई अदालतले कसुरदार ठहर गरी २ वर्ष ६ महिना कैद सजाय तोकेको छ । उनको सजाय आधा घटाइएको छ ।

    त्यस्तै कसुरदार ठहर गरिएका नेवानि सञ्चालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारीलाई १ वर्ष ९ महिना, सञ्चालक समिति सदस्यद्वय शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछानेलाई समान १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images