images
images
  • कतार एयरवेजले बन्द गर्‍यो भैरहवा उडान, १५ दिनमै पछि हटे अन्तर्राष्ट्रिय एयरलाइन्स

    काठमाडौँ – कतार एयरवेजले दोहा–भैरहवा उडान बन्द गरेको छ । कात्तिक २७ गतेबाट दैनिक भैरहवा उडान गर्ने अनुमति लिएको कतार एयरले यहि मंसिर १५ गतेदेखि उडान बन्द गरेको हो ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक ब्रजाचार्यले कतारले  मंसिर १५ गते शनिबार अन्तिम उडान गरेको जानकारी दिए ।

    दोहाबाट भैरहवा टचडाउन अनुमति लिई कतारले त्यहाँबाट काठमाडौं आई दोहा फर्किने उडान सुरु गरेको थियो । तर १९ दिन उडान गर्दा १०० जना मात्रै यात्रु पाएपछि कम्पनीले यो रुटमा तत्काल उडान नगर्ने निर्णय लिएको हो ।

    कतारले १२ नोभेम्बरदेखि ३० नोभेम्बरसम्मको लागि भैरहवा उडान अनुमति लिएकोमा त्यसपछि नविकरणका लागि पत्राचार नगरेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

    कतारले भैरहवामा खटाइएका आफ्ना कर्मचारी पनि त्यहाँबाट काठमाडौं फिर्ता बोलाइसकेको छ ।

    पर्यटकीय सिजनमा दैनिक दोहा–काठमाडौं चारवटा उडान गर्ने कतारले यतिबेला काठमाडौंमा दुइटा उडानमात्रै गरिरहेको छ ।

    थाइ एयर एसियाको पनि उडान कटौती

    यसैबीच यात्रुको चाप नभएका कारण थाइल्यान्डबाट आउने थाई एयर एशियाले पनि भैरहवाको उडान संख्यामा कटौती गरेको छ । विमानस्थलका प्रवक्ता ब्रजाचार्यका अनुसार, सातामा सोम र बिहीबार बैंकक–भैरहवा उडान गरिरहेको थाई एयर एशियाले अब बिहीबारमात्रै उडान गर्ने छ ।

    अब ४ कम्पनीले मात्रै उडान गर्ने

    भैरहवामा शनिबारसम्म कतार एयर, थाई एयर एशिया, फ्लाई दुबई, जजीरा र नेपाल वायुसेवा निगम गरी ५ वटा वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेका थिए ।

    कतार एयरले उडान बन्द गरेसँगै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ४ मा झरेको छ ।

    सरकारले त्रिभुवन विमानस्थलको मर्मत सम्भार र स्तरोन्नती गर्ने भन्दै दैनिक १० घण्टा विमानस्थल बन्द गरिरहेको छ । यता विमानस्थल बन्द भएका कारण फोर्सफुल्ली भैरहवा गएका एयरलाइन्सहरु १५ दिन मै पछि हट्न थालेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images