काठमाडौं – नेपालको इतिहासमै पहिलोपटक नेपालले कन्ट्री रेटिङ पाएको छ ।
यो सँगै कन्ट्री रेटिङ गराउने नेपालको वर्षौंदेखिको प्रतीक्षा आज आएर पूरा भएको छ । नेपालले फिच रेटिङ्स मार्फत सार्वभौम रेटिङ गराएको हो ।
यो नेपालका लागि ऐतिहासिक दिन भएको सम्बद्ध सरोकारवालाले बताएका छन् ।
विश्वका तीन ठूला रेटिङ कम्पनीमध्ये कै एक फिच रेटिङ्सले नेपाललाई ‘डबलबी माइनस’ रेटिङ प्रदान गरेको छ ।
यो भारतको भन्दा मात्र दुई स्थान तलको रेटिङ हो, तर अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये सबैभन्दा राम्रो हो ।
नेपालमा विदेशी मुद्रा सञ्चिति उत्कृष्ट भएको तथा बलियो आर्थिक वृद्धिको प्रक्षेपणका आधारमा फिचले नेपाललाई उस्तै अन्य देशको तुलनामा निकै उत्कृष्ट रेटिङ प्रदान गरेको हो ।
नेपालमा राजनीतिक स्थिरता हुन्थ्यो भने यो भन्दा राम्रो डबलबी प्लससम्मको रेटिङ आउन सक्ने अर्थतन्त्रका जानकारहरुले बताएका छन् ।
कन्ट्री रेटिङ कम्पनीहरुको क्रेडिट रेटिङ गरेजस्तै हो । तर यो भने कुनै मुलुक वा सार्वभौम निकायको मात्रै गरिन्छ । सार्वभौम रेटिङले कुनै मुलुकको ऋणपत्रमा लगानी गर्दा आउनसक्ने राजनीतिक लगायतका जोखिमहरुबारे जानकारी दिन्छ ।
त्योभन्दा पनि ठूलो कुरा विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर प्रारम्भिक मूल्यांकन गर्न पनि उक्त मुलुकको कन्ट्री रेटिङलाई हेर्दछन् ।
डबल बी माइनस रेटिङ दिन फिचले लिएका आधारहरु
यो रेटिङले नेपालमा बाह्य ऋणभार कम रहेको र भएको ऋणभार पनि अति नै सहुलियतपूर्ण रहेको भन्ने देखाउने फिचले जनाएको छ ।
खासगरी जलविद्युत क्षेत्रका कारण नेपालको आर्थिक वृद्धिको प्रक्षेपण बलियो र बाह्य तरलता सुदृढ रहेको देखिने पनि फिचले जनाएको छ ।
अल्पविकसित मुलुक बाह्य शक र प्राकृतिक प्रकोपको जोखिममा रहे पनि ऋणभार तथा वृद्धिको सम्भावनाले त्यसलाई सन्तुलनमा राखेको उसले जनाएको छ ।
नेपालको संघीय सरकारको ऋण यो आर्थिक वर्षको अन्त्यमा जीडीपीको ४४ प्रतिशत रहने र त्यो डबल बी ग्रेडको मेडियन भन्दा निकै तल रहेको पनि उसले जनाएको छ ।
आईएमएफको वित्तीय सुदृढिकरण परियोजनाका कारण ऋणको तह केही समय यही स्तरमा रहने र आर्थिक वृद्धि बलियो हुने प्रक्षेपण पनि फिचले गरेको छ।
त्यस्तै, संघीय सरकारको वित्तीय घाटा २०२६ को अन्त्यसम्मका ४ प्रतिशतमा झर्ने प्रक्षेपण पनि फिचले गरेको छ । डबलबी रेटिङका लागि यो दर जीडीपीको ३ प्रतिशत हुनुपर्ने पनि उसले जनाएको छ ।
कन्ट्री रेटिङले खोलेका ४ महत्त्वपूर्ण अवसरहरू :
१. मुलुक ननरेटेडबाट रेटिङ गर्ने गरिएको मुलुकमा गयो, यो आफैंमा एउटा अवसर हो ।
२. विदेशी लगानीकर्तालाई अहिलेको अवस्थामा नेपालमा लगानी गर्न सकिन्छ भन्ने सन्देश नेपालले पाएको रेटिङले दिएको छ । यसले नेपाललाई विदेशी लगानीकर्ताको विश्वासिलो गन्तव्य मुलुकका रूपमा स्थापित गर्न सक्छ ।
३. विदेशी मुद्राको सञ्चिति बलियो भएको तर सरकारलाई स्रोत चाहिएको बेला बाहिरबाट ऋण ल्याउनका लागि सहयोग हुन्छ । विकासशील मुलुकमा स्तरोन्नति हुँदा अनुदान अझै घट्ने हुँदा त्यसबेला स्रोतको अभाव हुन नदिन यसले मद्दत गर्ने छ ।
४. सरकार तथा निजी क्षेत्रले विदेशको कमर्सियल बजारबाट ऋण तथा लगानी ल्याउन सजिलो बनेको छ तर यसमा कानुनी सुधार गर्न आवश्यक छ ।


विश्व खबर 


















