images
images
  • असोजमा भित्रियो हालसम्मकै उच्च रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

    काठमाडौं – असोज महिनामा नेपाली इतिहासकै सर्वाधिक रेमिट्यान्स भित्रिएको छ ।

    असोजमा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो एक महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स भएको राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

    चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

    विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

    नेपालको विदेशी मुद्रा सञ्चिति भण्डार २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ ।

    असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्रतिशत बढेको बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

    हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले तीन महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images