
काठमाडाैं – रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रकम खर्च सम्बन्धमा सरकारी वकिल कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इन्कारी जवाफ दिएका छन् ।
गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा रविलाई प्रतिवादी बनाएर उनको बयान लिने क्रममा बुधबार उनले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार रविले ‘म सुप्रिमको सदस्य पनि होइन, ऋणी पनि होइन, कसले मेरो नाम लेखेर बैंकमा रकम जम्मा गरिदियो, त्यो मलाई थाहा भएन,’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।
रविले सुप्रिम मात्रै नभएर अन्य सहकारी ठगीमा पनि आफ्नो कुनै संलग्नता नरहेको र सरकारले दुःख दिने नियतले आफूलाई पक्राउ गरी हिरासतमा राखेको बताएका छन् ।
‘मैले राम्रै मनसायले जीबी राईसँग सहकार्य गरेको थिएँ । मलाई त्यो टेलिभिजनमा सहकारीको रकम ल्याएकोसम्म पनि थाहा छैन,’ रविले बयानमा भनेका छन् ।
उनले जीबीलाई पक्राउ गरेर ल्याएपछि सबै कुरा खुल्ने बताएको ती प्रहरी अधिकृतले जानकारी दिए ।
त्यसलगत्तै प्रहरीले हस्तक्षेप गरेर उनलाई अगाडि बढाएको थियो ।
गोरखा मिडिया नेटवर्कमा अध्यक्ष जीबीको ८५ प्रतिशत र रविको १५ प्रतिशत शेयर थियो । रविले टेलिभिजन छोडेका बेला नै आफूले शेयर बिक्री गरिसकेको बयान प्रहरीलाई दिएका छन् ।
रविले बयानमा दाबी गरेको कुरा तथ्यसँग मेल नखाने प्रहरीले जनाएको छ ।
२०७८ वैशाख ५ मा ग्लोबल आईएमई बैंकमा रहेको गोरखा मिडिया नेटवर्कको खातामा लामिछानेका तर्फबाट एक करोड जम्मा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उक्त रकम बुटवलस्थित सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै ‘ट्रान्सफर’ भएको थियो । सो रकम सहकारीकै कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएकी थिइन् । यससँगै रविको नामबाट थप ९६ लाख रुपैयाँ प्रवाह भएको देखिन्छ ।
रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ अनुमति दिएको थियो । प्रहरीले अदालतको त्यही अनुमतिअनुसार अनुसन्धानका लागि रविलाई रुपन्देही लगेको हो ।
बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रुपैयाँ रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोरखा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
कात्तिक २ गते वनस्थलीबाट पक्राउ परेका रविलाई सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धान गर्न कास्की पुर्याइएको थियो । कास्की प्रहरीले रविविरुद्ध ठगी, कीर्ते, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्