काठमाडौं – दर्शकको उच्च रोजाइमा परेको फिल्म ‘पूर्णबहादुरको सारंगी’को मूलकथा एउटा उपन्यासबाट चोरेको आरोप लागेको छ ।
उपन्यास ‘संग्रामपुर’का लेखक शिवसंकर बस्यालले यस्तो आरोप लगाएका हुन् ।
उनले फिल्ममा समावेश १० प्लट पुस्तकसँग मिलेको आफूले पाएको दाबी गरेका छन् ।
जसमा पूर्णबहादुर र कमल चलचित्रका दुई मूल पात्र रहेजस्तै सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर मुख्य पात्र हुनु, पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्गसँग ठ्याक्कै मिल्नु, छोराको पालनपोषणमा दिलोज्यान मरिमेट्ने पूर्णबहादुरको शैली रुपमानसँग मिल्नु, आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्नु र जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेको प्रसंग उपन्याससँग मेल खाएको लेखकको दाबी छ ।
त्यस्तै पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु, त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु, संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले एमबीबीएसमा नाम निकाल्नु, बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि नाम ननिस्केको भनि ढाँटेर पढ्न जान नखोज्नु र रुपमानकै जोर जबर्जस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबर्जस्तीले कमल मेडिकल पढ्न जानु उपन्यास र फिल्मबीच हुबहु मिलेका सन्दर्भ भएको लेखक बस्यालले दाबी गरेका छन् ।
उनी अगाडि लेख्छन्, ‘केही प्रसंग बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन् । पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ, सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबुछोराको प्रेमसहित समीर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ । पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो । मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे । यो भन्दा अरु कथामा नौलो भेटिन ।’
के भन्छन् निर्माता ?
निर्माता विनोद पौडेलले यो नियोजित नभएर संयोगवश कथावस्तु मिल्न गएको दाबी गरेका छन् । यसको कथा धेरै मान्छेको जीवनसँग मिलेको हुनसक्ने भए पनि स्क्रिप्टको लेखनको बेलादेखि नै आफू संलग्न भएकाले यसमा कसैको कथा मिल्न गए संयोग मात्र हुने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा लेखकलाई नै गाली
लेखक बस्यालले उक्त आरोप लगाएपछि सामाजिक सञ्जालमा भने उनको चर्को आलोचना भएको छ । कुनै फिल्म सफल हुने वित्तीकै आरोप लगाउने नेपालीको बानी नै भइसकेको दर्शकको बुझाई छ ।
प्रतिक्रिया दिनुहोस्