काठमाडौं – कोशी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएकोछ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो १ बजे जहाजमार्फत् काठमाडौं ल्याइने बताइएको छ ।
कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि मन्त्री अधिकारीसँगै जापान गएका थिए । तर जापानको अध्यागमनले उनीहरुलाई विमानस्थलबाटै नेपाल फर्काइदिएको थियो ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरिसकेको छ ।
उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई एमालेकै कार्यकर्ताले फसाएको बताइरहेका छन् । उनले यस अघि काठमाडौं बस्ने एमालेका कार्यकर्ताको विश्वासमा जापान गएको र त्याहाँ अरु मान्छे पनि सँगै जान खोज्दा आफू फसेको थाहा पाएको कुरा बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्