images
images
  • पेलेरै पाथीभरा केबलकार शिलान्यास गर्न खोज्दा दुईपक्षबीच झडप, प्रहरी परिचालन गरेर शिलान्यास

    काठमाडौं। नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माणको शिलान्यास गर्न खोज्दा झडप भएको छ ।

    पाथीभरामा केबलकार निर्माण गर्न दिने वा नदिने भन्ने विषयमा स्थानीयहरु दुई समूहमा विभाजित भएका छन् । त्याहाँका अधिकांस स्थानीयहरु केबलकार निर्माण गर्न नहुने पक्षमै छन् । अर्को पक्षले असहमति जनाउँदा जनाउँदै केबलकार निर्माणको शिलन्यास कार्यक्रम राखेपछि विवादले उग्र रुप लिएको हो ।

    एउटा पक्ष शिलान्यास कार्यक्रममा सहभागी भइरहँदा अर्को पक्षले शिलान्यास नै बिथोल्न खोज्दा झडप भएको पाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

    तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेका थिए । तर स्थानीय प्रसाशनले भने प्रहरी परिचालन गरेर शिलान्यास सम्पन्न गरेको छ ।

    पाथीभरामा केबलकार बनाउने विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ । यो केबलकार निर्माणको जिम्मा पाथीभरा केबलकार कम्पनीले पाएको छ ।

    प्रत्यक्षदर्शीका अनुसार, प्रहरीले एक्जाभेटरको चाबी लगेपछि विवाद बढेको थियो । त्यसक्रममा निर्माण पक्षले प्रहरीसँग चाबी मागेर एक्जाभेटर लगिछाड्ने अड्डी लियो । त्यहिबेला अर्को पक्षले माथिबाट ढुंगा बर्सायो । त्यसपछि त दुवै पक्षबीच हात हालाहाल हुँदा दुवै पक्षका केही व्यक्तिहरु घाइते भएका छन् ।

    पाथीभरामा केबलकार बनाउन नहुने भन्दै विभिन्न समिति बनाएरै आन्दोलन भइरहेको छ । केवलकार निर्माण खारेजी समिति, मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायतले कुनै पनि हालतमा केबलकार बनाउन नदिने चेतावनी दिँदै आएका छन् ।

    पाथीभरामा केबलकार निर्माणका लागि चन्द्रागिरी र मौलाकालिका केबलकार निर्माण गरिसकेको आईएमई ग्रुप अन्तर्गतको पाथीभरा केबलकार दर्शन प्रालीले जिम्मा पाएको छ ।

    तस्वीर : हेमराज निरौला

    प्रतिक्रिया दिनुहोस्
    images
    images