काठमाडौं । अल्लु अर्जुन स्टारर भारतीय फिल्म ‘पुष्पा २’ लाई नेपाल भित्राउन ४ करोड रुपैयाँ भारु (नेपाली ६ करोड ४० लाख रुपैयाँ) खर्च गरिएको छ । यो बजेटमा अहिले नेपालमा ३ देखि ४ वटा सम्म फिल्म बनाउन सकिन्छ ।
‘पुष्पा २’ अहिलेसम्मकै महंगो मूल्यमा नेपाल भित्रिन लागेको छ । नेपालका तीन ठूला वितरण कम्पनीले संयुक्तरुपमा यो फिल्मको वितरण अधिकार खरिद गरेको जनाएका छन् ।
ए-एट्, डीसीएन र आरआर फिल्म्सले फिल्मको डिष्ट्रिब्युसन राइट न्यूनतम ६ करोड ४० लाख रुपैयाँ (४ करोड भारु)मा खरिद गरेका हुन् । आउने निश्चित भएपछि क्यूएफएक्सले आफ्नो वेबसाइटमा ‘कमिङ सुन’ पोस्टर हालेको छ ।
अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर फिल्मले लगानी उठाउन भने नेपालमा न्यूनतम १९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्नुपर्छ । यो भन्नुको अर्थ, अहिले ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले कमाएको बराबर ‘पुष्पा २’ ले एक्लै कमाउनुपर्छ छ ।
समीक्षा सकारात्मक भएमा ‘पुष्पा २’ का लागि त्यो लक्ष्य कठिन नहुने विश्लेषण गरिएको छ । अमेरिकी ओटीटी प्लाटफर्म नेटफ्लिक्सले यसको राइट २७५ करोड भारुमा किनेको छ । रिलिजअघि नै फिल्मले विभिन्न राइट विक्रीबापत एक हजार करोड भारुभन्दा धेरै कमाइ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्