images
images
  • साफ वुमन्स : उपाधीको दावेदार नेपालले इतिहासमै पहिलोपल्ट भुटानसँग खेल्यो बराबरी

    काठमाडौं । उपाधीको दावेदार भनिएको नेपाल साफ वुमन्स च्याम्पियनसिप २०२४ मा भुटानसँग बराबरीमा रोकिएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

    साफ वुमन्स च्याम्पियनसिप इतिहासमै नेपालले पहिलो पटक भुटानसँग बराबरी खेलेको हो । यस अघि भएका सबै खेलमा नेपाल विजयी भएको इतिहास छ ।

    साफमा कुनै पनि टिमसँग नेपालको यो पहिलो बराबरी पनि हो । अन्य मुलुकसँग नेपालले जीत वा हारको स्पष्ट नतिजा निकालेको इतिहास छ ।

    नेपाली टिममा सावित्रा भण्डारी नहुँदा नेपालले पाएका आधा दर्जन बढी अवसरहरु गोलमा परिणत गर्न सकेन । खेलमा सावित्राको अभाव प्रष्ट देखिएको थियो ।

    नेपालले पहिलो हाफमा १३ औं, २० औं, २४ औं, २६ औं र ४० औं मिनेटमा गोलका अवसर सिर्जना गरेपनि भुटानी रक्षा पंक्तीलाई कटाएर बललाई जाली चुमाउन सकेन ।

    दोस्रो हाफको सुरुमै नेपालले रेनुका नगरकोटे र सरु लिम्बुको स्थानमा रेखा पौंडेल र दीपा शाहीलाई मैदान पठाएको थियो । त्यसपछि नेपालले थप दबाब बनाएको थियो ।

    दोस्रो हाफमा नेपालले ५२ औं, ८३ औं  र ९० औं मिनेटमा पनि उत्कृष्ट अवसर सिर्जना गरेको थियो । तर कुनै पनि अवसर गोलमा परिणत नभएपछि नेपालले इतिहासमै पहिलोपटक साफ च्याम्पियन्सिपमा भुटानसँग बराबरी खेल्दै अंक बाडेको हो ।

    बराबरीपछि समूह ए मा दुवै टोलीले समान १/१ अंक जोडेका छन् । नेपालले अब सोमबार आफ्नो दोस्रो खेल माल्दिभ्ससँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images