images
images
  • असोजको बाढीले माथिल्लो तामाकोसीमा पौने दुई अर्बको क्षति, ८ महिना अघि नबन्ने, ‘हिउँदमा समस्या’

    काठमाडौं । सञ्चालनमा रहेका आयोजनामध्ये देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा असोजको बाढीले पौने दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

    असोज १० र ११ गते आएको निरन्तर वर्षा र त्यसपछिको बाढी र पहिरोले तामाकोसीमा १ अर्ब ८० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाले जनाएको छ ।

    कम्पनीले तयार पारेको रिपोर्टमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी क्षति भएको उल्लेख छ ।

    आयोजनाको ड्याम साइटमा रहेको कन्ट्रोल बिल्डिङ पूरै ध्वस्त हुँदा त्याहाँ रहेका ४ जना कर्मचारीको ज्यानै गएको थियो । कन्ट्रोल रुमसँगै इलेक्ट्रिकल, मेकानिकाल इक्विपमेन्टहरुमा पनि क्षति पुगेको थियो ।

    सिभिलतर्फ डिस्यान्टरको सुरुको भाग ध्वस्त भएको छ । बक्स कल्भर्टमा पनि क्षति पुगेको छ । पहुँचमार्गमा समेत ठूलो क्षति भएको छ ।

    tamakoshi

    हिउँदको माग धान्न समस्या हुने

    ४५६ मेगावाटको माथिल्लो तामाकोसीले उत्पादन थालेपछि नेपाललाई हिउँदयामको माग धान्न सहज भएको थियो । त्यसकै बलमा नेपाल गत आर्थिक वर्ष खुद विद्युत निर्यातकर्ता बनेको थियो । अर्थात भारतबाट आयात भएको भन्दा बढी विद्युत निर्यात भएको थियो ।

    ठूलो क्षमताको आयोजना पूर्णरुपमा सञ्चालनमा आउन ८ महिना लाग्ने भएपछि हिउँदमा भारतबाट आयात बढाउनुपर्ने भएको छ ।

    हिउँदको माग पूरा गर्न गत वर्ष भारतबाट ६०० मेगावाटसम्म विद्युत आयात गर्नुपरेको थियो । तामाकोसी सञ्चालनमा नआउँदा यो वर्ष आयात थप बढाउनुपर्ने पक्का छ ।

    भारतबाट हिउँदमा आयात हुने बिजुली अधिकतम १८ रुपैयाँ प्रतियुनिटसम्म पर्ने गरेको छ । यसले गर्दा विद्युत प्राधिकरणको वित्तीय अवस्था पनि खस्किने जानकारहरु बताउँछन् ।

    गत आवमा १७ अर्बको विद्युत निर्यात गरेको प्राधिकरणले चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियो । असोज ११ र १२ को बाढीले तामाकोसी सहित निजी क्षेत्रका ३५ बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएपछि निर्यात लक्ष्य प्रभावित हुने भएको छ ।

    हालैमात्र पनि प्राधिकरणले सम्झौता अनुसारको विद्युत निर्यात गर्न नसकेका कारण १० करोड बढी जरिवाना तिर्नुपर्ने अवस्था आइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images