images
images
  • यी हुन् तोकिएको चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर जारी गर्न लागेका बीमा कम्पनीहरु, कसको कति हकप्रद आउँदै छ ?

    काठमाडौं । बीमा कम्पनीहरुलाई प्राधिकरणले तोके अनुसारको चुक्ता पूँजी पुर्‍याउन सकस परेपछि उनीहरुले हकप्रद सेयरको अन्तिम विकल्प आत्मासात गरेका छन् । कम्पनीहरुले चुक्ता पुँजी पुर्‍याउन हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

    नियामक निकाय बीमा प्राधिकरणले पुँजी वृद्धिका लागि पटक पटक छुट र सुविधा दिँदा पनि अझै १४ वटा बीमा कम्पनीहरुले तोकिएको पुँजी पुर्‍याउन सकेका छैनन् ।

    हाल सञ्चालित १४ निर्जीवन र १४ जीवन बीमा कम्पनीहरुमध्ये जीवन र निर्जीवन तर्फ ७/७ वटा कम्पनीले पुँजी पुर्‍याउन सकेका छैनन् । ती कम्पनीलाई कुल १४ अर्ब ४२ करोड ३६ लाख १ हजार रुपैयाँ थप पुँजी आवश्यक छ ।

    हालसम्म जीवन बीमातर्फ नेपाल लाइफ, हिमालयन लाइफ, सूर्यज्योति लाइफ, नेशनल लाइफ र आईएमई लाइफ इन्स्योरेन्स बाहेक अरु कम्पनीहरुले तोकिएको न्यूनतम ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् ।

    यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट बाहेक अरुको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्न सकेको छैन ।

    कुन कम्पनीलाई कति पुँजी आवश्यक ?

    जीवन बीमा कम्पनीतर्फ रिलायबल नेपाल लाइफले बोनस शेयरबाटै चुक्ता पुँजी पुर्याउने तयारी गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । प्राधिकरणले निर्धारण गरेको पुँजी पुर्याउन कम्पनीलाई थप ३६ करोड रुपैयाँ आवश्यक छ ।

    प्रभु महालक्ष्मी लाइफको ५ अर्ब पुँजी पुग्न ७० करोड ४० लाख रुपैयाँ आवश्यक छ । हाल कायम पुँजीबाट यसले १० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । उक्त बोनस वितरण पछि अपुग पुँजी पुर्याउन ७ प्रतिशत हकप्रद निष्कासन गर्ने तयारी छ ।

    यता, सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको हाल कायम चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साथै, सन नेपाल लाइफले २७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । उक्त हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी पुग्नेछ ।

    सिटिजन लाइफ इन्स्योरेन्सको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न १ अर्ब ६ करोड २५ लाख रुपैयाँ अपुग रहेको छ । उक्त रकम हकप्रद र बोनस गरी करिब २८ प्रतिशत निष्कासन गरेर पुँजी पुर्याउने यस कम्पनीले जनाएको छ ।

    त्यस्तै, एसियन लाइफले ४२ प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति मागेको छ । हाल एसियन लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ । उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद शेयर जारी भएपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ । बाँकी अपुग पुँजी बोनस शेयरमार्फत पुर्याउने कम्पनीले जनाएको छ ।

    यता, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । उक्त पुँजीबाट ८८ प्रतिशत हकप्रद निष्कासन गर्न यस कम्पनीलाई धितोपत्र बोर्डले स्वीकृति दिइसकेको छ । उक्त हकप्रद शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ ।

    त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ युनाइटेड अजोड इन्सुरेन्सले १५ प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रदपछि यसको पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

    यता, नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यसको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर बिक्री भएपछि यसको चुक्ता पुँजी २ अर्ब ५० करोडमाथि पुग्नेछ ।

    सानिमा जीआईसी इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यस कम्पनीले ५० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने जनाएको छ ।

    यता, नेपाल इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यसको चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । बाँकी पुँजी बोनस शेयरमार्फत पुर्याउनेछ ।

    एनएलजी इन्स्योरेन्सले ६२.५६ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाइसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, प्रभु इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । बाँकी बोनस सेयर मार्फत २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images