
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)मा ३५ वटा कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँ बराबरको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको पाइलपाइलमा रहेको छ ।
अहिले धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण रोकिएको आईपीओ बोर्ड अध्यक्ष नियुक्त भएसँगै निष्कासनको प्रक्रियामा जाने छ ।
आईपीओको पाइपलाइनमा रहेका ३५ अध्ये आधा भन्दा बढी १८ वटा जलविद्युत कम्पनी रहेका छन् । ५ वटा कम्पनीले भने प्रिमियम मूल्यम सेयर निष्कासन गर्ने अनुमति मागेका छन् । पाइपलाइनमा रहेका कम्पनीहरुमा मिडिया, अस्पताल, केवलकार, औषधी उत्पादन गर्ने कम्पनी, होटल, लघुवित्त वित्तीय संस्थालगायत रहेका छन् ।
पाइपलाइनमा रहेर प्रिमियम मूल्यमा सेयर निष्कासनको तयारीमा रहेका ५ कम्पनीमा हेम्स अस्पताल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र जगदम्बा स्टिल रहेका छन् ।
हेम्स अस्पतालले १०० रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८८ रुपैयाँका दरले सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले ३२ करोड ४० लाख रुपैयाँको ११ लाख २५ हजार कित्ता सेयर निष्कासनका लागि अनुमति मागेको छ ।
यस्तै, सौर्य सिमेन्ट इन्डस्ट्रिजले अंकित मूल्यमा प्रतिकित्ता १६४ रुपैयाँ ५१ पैसा प्रिमियम थपेर प्रतिकित्ता २६४ रुपैयाँ ५१ पैसामा सेयर निष्कासनको अनुमति मागेको छ ।
साथै, मारुती सिमेन्टले अंकित मूल्यमा प्रतिकित्ता २७७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३७७ रुपैयाँका दरले सेयर निष्कासनको अनुमति मागेको छ । जगदम्बा स्टिल्सले अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँका दरले सेयर निष्कासनको अनुमति मागेको छ ।
यस्तै रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न अनुमति मागेको छ । संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरेको कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीलाई सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको भएपनि पछिल्लो समय धितोपत्र बोर्ड, लेखा समिति, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा परेको उजुरी पछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न सकेको छैन । यो कम्पनी पनि बोर्डको अनुमतिको पर्खाइमा छ ।
आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका अन्य कम्पनीमा डिसहोम मिडिया नेटवर्क, एपेक्स हस्पिटालिटी, एसवाई प्यानल, अर्चिड होल्डिङ्स, अन्नपूर्ण केवलकार, अरुण इन्भेष्टमेन्ट कम्पनी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, एकर्ड फर्मास्युटिकल्स, ट्रेड टावर, कान्तिपुर टेलिभिजन नेटकर्व, आइएमई लिमिटेड आईपीओ निष्कासन गर्न बोर्डको पाइपलाइनमा रहेका छन्।
बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनी रहेपनि केही म्युचुअल फण्डलगायत अन्य दर्जनौ कम्पनी आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिने तयारीमा रहेका छन् । तर, अध्यक्ष नियुक्त नभएका कारण अन्य कम्पनीहरु समेत आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिन कुरेर बसेको एक जलविद्युत प्रवर्द्धकले बताए ।
धितोपत्र बोर्डमा अहिले अर्थ मन्त्रालयका सहसचिव महेश बराल अध्यक्षको रुपमा रहेका छन् । तर, उनी बोर्डको अध्यक्ष नियुक्ति नहुन्जेलका लागिमात्र अध्यक्षको भूमिकामा रहेका कारण धेरै कम्पनीका आईपीओ निष्काशनको निर्णय गर्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्