images
images
  • यातायात व्यवसायीको मुख्य सिजनमै अधिकांश राजमार्ग अवरुद्ध, नयाँ गाडी किन्नेलाई ऋण तिर्नै समस्या

    काठमाडौँ । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् ।

    नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)निकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)निकट गणतान्त्रिक यातायात व्यवसायी संगठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको नजिक भएका विपद्जन्य घटनाले नेपालको यातायात क्षेत्र समस्यामा परेका बताएका हुन् ।

    यातायात व्यवसायीले वर्षभरी हुने कमाइको आधा रकम दशैं तिहारको बेला कमाउने योजना बनाएका हुन्छन् । यहि समयमा बाढी पहिरोले सडक अवरुद्ध भएपछि नयाँ गाडी किनेका व्यवसायीलाई बैंकको ऋण भुक्तानमै समस्या हुने देखिएको व्यवासयीहरुले बताएका छन् ।

    व्यवसायी संघसङ्गठनले बाढी र पहिरोबाट निधन भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै हराएकाको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरेका छन् । घाइतेको उपचार, उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    यातायात संघसंस्थाहरुले बाढीपहिराको घटनाले चाडपर्वको सम्मुखमा व्यवसायीको नियमित गतिविधिमा असर पुग्नाका साथै बिपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सार्वजनिक सवारीसाधन र मजदुर अलपत्र परेको बताउँदै तत्काल अलपत्र सवारीसाधन तथा यात्री उद्धार गर्नुपर्ने व्यवसायीको माग छ ।

    व्यवसायीहरुले दसैँ अगावै समस्या समाधान गर्ने पहलकदमी लिनाका साथै यातायात व्यवसायी तथा मजदुरलाई तत्काल राहत पुग्ने किसिमको वित्तीय सहयोगको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षसमेत गरेका छन् ।

    संयुक्त विज्ञप्तिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष श्रीप्रसाद मैनाली र गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images