images
images
  • राजमार्गमा यात्रुलाई खाना खुवाउँदा कम्तिमा ४ वटा होटल भएको ठाउँमा रोक्नुपर्ने, एकान्तका होटल बन्द गर्ने संकेत !

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्री भण्डारीले राजमार्गमा सञ्चालनमा रहेका होटललाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको बताएका छन् ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को युवा विद्यार्थी विशेष जिल्ला कमिटीको मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारी कम्तीमा पनि चारवटा होटल भएको ठाउँमा यात्रुवाहक सवारी साधन रोकिनुपर्ने र एकान्तमा सञ्चालन गरिएका होटल कारबाहीको दायरामा आउने बताएका छन् ।
    अत्यावश्यक वस्तुका रुपमा रहेको पानीको अधिकतम खुद्रा मूल्यभन्दा बढी लिने जुनसुकै होटल तथा रेष्टुरेन्ट कारबाहीको दायरामा आउने बताएका छन् । पानीको बढी मूल्य लिने केही होटललाई कारबाही गरिसकेको भन्दै उनले त्यो क्रम जारी रहने पनि बताए ।
    विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको पनि उनले बताएका छन् । उनले बजारमा अभाव हुन नदिन मन्त्रालयले पनि देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल पनि सञ्चालन गरेको जानकारी दिए ।
    मन्त्री भण्डारीले विपद्जन्य अवस्था र चाडपर्वका बेला कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव गरे वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने बताए ।
    “काठमाडौँमा आउने तरकारी छिमेकी जिल्लाहरु धादिङ, नुवाकोट, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट हो, बाढीपहिरोले एकातिर बाटो बन्द भयो, अर्कोतिर वर्षाले तरकारी खेतीमा नोक्सानी गर्यो, त्यसकारण केही दिन तरकारी आयात हुन समस्या भयो र केही मूल्य वृद्धि भएको हो”, उनले भने, “विस्तारै तरकारी आयात भइरहेको छ, मन्त्रालयबाट महङ्गोमा तरकारी बेचेको पाइए कारबाही गर्न मातहतका निकायलाई निर्देशन भइसकेको छ ।”
    विगतभन्दा अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै मन्त्री भण्डारीले बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा  कालो बजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं ११३७ मा खबर गर्न आग्रह गरे ।
    उनले भने, “अमूर्तरुपमा कालोबजारी, अभाव र मूल्यवृद्धि भयो भन्ने गरिन्छ, कहाँ छ त्यसो भएको भनेर हामीलाई जानकारी गराउनुस्, हामी तत्काल ‘एक्सन’ लिएर ठाउँका ठाउँ कारबाही गर्छौं ।” व्यावसायिक शुद्धतासहित जनतालाई अत्यावश्यक वस्तुको उपलब्धताका लागि वाणिज्य मन्त्रालयबाट कुनै कसर बाँकी नराख्ने भण्डारीले जिकिर गरे । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images