• बाढी पहिरोबाट १७ अर्ब बढी क्षातिको प्रारम्भिक अनुमान, सबैभन्दा धेरै कृषि, ऊर्जा र पूर्वाधारमा

    १५ असोज, काठमाडौं । सरकारले असोज ११ र १२ गतेको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । यस मध्ये सबैभन्दा ठूलो क्षति कृषि, ऊर्जा, पूर्वाधार र खानेपानी क्षेत्रमा भएको विवरण सार्वजनिक गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक जानकारी दिइएको हो ।

    मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिँदै बाढीबाट २२४ जनाको मृत्यु भएको र २४ जना अझै बेपत्ता रहेको बताए । बाढी पहिरोमा परी १५८ जना घाइते भएका छन् ।

    बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

    त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

    कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस्