• हालैको बाढी पहिरोमा उद्धारका लागि ३१ हजार सुरक्षाकर्मी परिचालन भएको गृहमन्त्रीको दावी, मृतकको संख्या २१८ पुग्यो

    १५ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएको जानकारी दिएका छन् ।

    प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको मंगलवारको बैठकमा उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको भन्दै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए ।

    उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए ।

    “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”, उनले भने ।

    बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए ।

    पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताए ।

    उद्धारमा नेपाली सेनाका तीन हजार ९०६, नेपाल प्रहरीका १४ हजार ८०२ र सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस्