• बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु, ३० जना अझै बेपत्ता

    १४ असोज, काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।

    प्राकृतिक विपद्मा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका हुन् ।

    बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५०० भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।

    बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।

    सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । रासस

    प्रतिक्रिया दिनुहोस्