images
images
  • पहिरोले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतको बाँध क्षेत्रमा क्षति, विद्युत उत्पादन बन्द

    १२ असोज, काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रमा क्षति पुगेको छ।

    माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्णरुपमा बन्द गरिएको छ। बाँधका सम्पूर्ण ढोकाहरू खुला गरिएको छ ।

    बाँधस्थलमा खसेको पहिरोका कारण बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा क्षति पुगेको आयोजनाले जनाएको छ।लपहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

    आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले विद्युतगृह रहेको स्थान गोंगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलाहरुमा बाढी आएका कारण कोहीपनि त्यहाँसम्म पुग्न नसकेको बताएका छन् ।

    उनका अनुसार पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायतका संरचनामा क्षति पुग्नुका साथै जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ।

    नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको र हालसम्म कुनै मानवीय क्षति भने भएको छैन । जिल्ला प्रशासन कार्यालय, दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

    तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो। अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा ४६१ क्युमेक छ। नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव २५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नु पर्नेहुन्छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको थियो ।

    ४५६ मेगावाटको तामाकोशी नेपालमा सञ्चालनमा रहेका मध्ये सबैभन्दा ठूलो क्षमताको जलविद्युत आयोजना हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images