• दशैंको अग्रिम टिकट असोज १२ गतेदेखि खुल्ने, कुन ठाउँको लागि कहाँबाट लिने टिकट ?

    ८ असोज, काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १२ गते शनिबार देखि खुल्ने भएको छ ।

    नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलका अनुसार मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

    यससँगै सर्वसाधारणले सार्वजनिक बसको अग्रिम टिकट खुल्ने पक्का भएको छ । विगत केही वर्ष भने सरकारसँग सम्झौता नहुँदा अग्रिम टिकट बुकिङ खुलेको थिए ।

    यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम बुकिङ खुलाउने सहमति भएको थियो ।

    उक्त सहमति अनुसार विभागले १२ असोजदेखि लागू हुने गरी अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको सिटौलाले जानकारी दिए ।

    बसको अग्रिम टिकट गोंगबुमा रहेको नयाँ बसपार्क, तिलगंगा बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानबाट पाइनेछ । जुन रुटको बस जहाँबाट छुट्छ, उक्त रुटको टिकट पनि सोही स्थानबाट अग्रिम रुपमा बुकिङ गर्ने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्