• नेपाली खेलकुदका दुई ठूला सफलता : पलेसापछि एरिकालाई गरियो भव्य स्वागत

    ८ असोज, काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । मंगलवार बिहान स्वदेश फर्किएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

    ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् ।तर, उनले जितेको रजत पदक भने नेपालका लागि ऐतिहासिक हो ।

    एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।

    ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेर एरिकालाई स्वागत गरेका छन् ।

    एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थल पुगेका थिए । साथमा ब्याण्ड टोलीले पनि एरिकालाई स्वागत गरेको थियो ।

    केहि दिन अघि मात्र फ्रान्समा सम्पन्न पाराओलम्पिकमा पदक विजेता पलेसा गोवर्धनलाई पनि विमानस्थलमा भव्य स्वागत गर्नुका साथै सरकारले नगद सहित सम्मान गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्