७ असोज, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमाबरदेखि देशैभर सहुलियत पसल सञ्चालन गरेको छ ।
गत भदौ २३ गते मन्त्रालयले गरेको निर्णय अनुसार चाडपर्वलक्षित सहुलियत पसल सोमबारदेखि सञ्चालनमा आएका हुन् । सहुलियत पसल आगामी छठ पर्वसम्मै सञ्चालन हुने साल्ट ट्रेडिङले जनाएको छ ।
कहाँ कहाँ छन् सहुलियत पसल ?
उपत्यकामा तीन वटा घुम्ती पसल सहित १२ ठाउँमा सहुलियत पसल सञ्चालन गरेको कर्पोरेशनले अन्य २१ जिल्लाका विभिन्न सहरमा पनि सहुलियत पसल सुरु गरेको छ ।
काठमाडौं उपत्यकामा कालिमाटी, सतुंगल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर (सल्लाघारी) र कौशलटारमा सहुलियत पसल सञ्चालनमा आएका छन् । त्यस्तै ३ वटा घुम्ती पसलबाट पनि उपत्यकामा सेवा सुरु गरिएको छ ।
उपत्यका बाहिर कहाँ छन् सहुलियत पसल ?
साल्ट ट्रेडिङले उपत्यका बाहिर काभ्रेपालञ्चोकको बनेपा र धुलिखेल, नुवाकोटको त्रिशूली, मकवानपुरको हेटौंडा, चितवनको नारायणगढ मोरङको विराटनगर,धनुषाको जनकपुर, पर्साको वीरगञ्ज, कास्कीको पोखरा, सुर्खेतको विरेन्द्रनगर, कैलालीको धनगढी, टिकापुर र अत्तरियामा सहुलियत पसल सञ्चालन गरेको छ ।
त्यसैगरी झापाको बिर्तामोड,सप्तरीको राजविराज, सिरहाको लहान, बागलुङको बागलुङ बजार, रुपन्देहीको भैरहवा, कपिलवस्कोतु कृष्णनगर, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल तथा बैतडीको बैतडी पाटनमा सहुलियत पसल खुलेको छ ।
कति पाइन्छ छुट ?
साल्ट ट्रेडिङका अनुसार चाडपर्व लक्षित सहुलियत पसलमा खाद्यान्न, गेडागुडी, तेल र मसलाजन्य सामग्री मात्रै पाइन्छ । बजार मूल्यभन्दा नुनमा किलोको २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ, तेल लिटरमा ७ रुपैयँ, चिउरा, पिठो र मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ ।





















