७ असोज, काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ३० जना भारतीय राइडर मोटरसाइकलमा नेपाल आएका छन् ।
भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको अपाचे बाइक राइडरको टोली पोखरा हुँदै मुस्ताङको भ्रमण गरी काठमाडौं आइपुगेको हो ।
काठमाडौं आइपुगेको टोलीलाई सोमबार नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरी बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ ।
फ्लाग अफ कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले नेपालमा पछिल्लो समय साहसिक पर्यटनका गतिविधि बढिरहेको सन्दर्भमा आयोजना गरिएको बाइक राइडरहरूको यो यात्राले नेपालको साहसिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए ।
भारतीय राइडरको टोलीमा नेपालका १० जना राइडर थपिएर सोमबार काठमाडौं, ललितपुर, भक्तपुर हुँदै काभ्रेको धलिखेसम्मको यात्रा गर्ने राइडिङ आयोजक जगदम्बा मोटर्स (टीभीएस नेपाल)ले जनाएको छ ।
काठमाडौंको यात्रा सकेर भारतीय राइडरको टोली चितवन सौराहाको यात्रामा निस्कने र चितवनबाट बुटबल-सुनौली हुँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्