काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर बलेफी हाइड्रोपावरमा लगानी जुटेको छ । शुक्रबार कम्पनीको अगुवाईमा सह-वित्तीयकरणमा सहभागी बैंकहरु र अपर बलेफी हाइड्रोपावर बीच ४६ मेवा क्षमताको अपर बलेफी जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको हो।
फेसिलिटी सम्झौतामा लक्ष्मी सनराइज बैंकका प्रमुख व्यापार अधिकृत मनीष राज कुँवर, कृषि विकास बैंकका क्रेडिट व्यवसाय र कोष विभाग प्रमुख सुदिप कुमार दाहाल, नेपाल एसबीआई बैंकका प्रबन्धक प्रभिन भट्टराई, माछापुच्छ्रे बैंकका प्रमुख पूर्वाधार तथा कर्पोरेट ऋण प्रवर्धक बिनीत चन्द्र झा र अपर बलेफी हाइड्रोपावर लिमिटेडका निर्देशक सञ्जय कुमार साहले हस्ताक्षर गरेका छन् ।
उक्त कम्पनीले २०७८ साल साउन ३२ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै २०८० साल मंसिर ५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रुपमा गोल्यान ग्रूप, एचआर गोयल ग्रूप, सिद्धार्थ ग्रूप र उमेश कसजु छन् ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता गरेका छन् भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वर्द्धक/संस्थापकहरुको लगानी रहने छ।
उक्त बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ४.०७ अर्ब रुपैयाँ छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा कृषि विकास बैंकको १.५ अर्ब, नेपाल एसबिआई बैंकको १ अर्ब तथा माछापुच्छ्रे बैंकको ५० करोड लगानी छ।
सो आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादन भए पश्चात वार्षिक करिब २७४.८९ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै ठूलो मध्येको स्वतन्त्र उर्जा उत्पादकको रुपमा रहने विश्वास कम्पनीको छ ।उक्त परियोजनामा ८ वटा जलविद्युत परियोजनाहरू छन् भने अपर बलेफी हाइड्रोपावर पनि उक्त परियोजनामा समाबेश छ।
सो आयोजनाको कुल लागत ९.४३ अर्ब रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । त्यस्तै गरि ६ वटा सौर्य ऊर्जा परियोजनाहरू रहेका छन्, जसले नेपालको नवीकरणीय ऊर्जा पोर्टफोलियोमा विविधता ल्याउने गोल्यान समूहको प्रमुख भुमिकालाई प्रतिनिधित्व गर्दछ।


विश्व खबर 


















