images
images
  • टाटा इभीको ब्यापारमा भयानक गिरावट, नेपालमा विरासत जोगाउन कत्तिको चुनौती ?

    काठमाडौँ । भारतको सबैभन्दा ठूलो ईभी ब्राण्ड टाटा मोटर्सको विक्री गत महिना भारी मात्रामा घटेको छ । जुलाईमा टाटा मोटर्सको विद्युतीय गाडी विक्री दर २१ प्रतिशत घटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    भारतमा समग्र ईभी बजारको विक्री गत अप्रिलदेखि जूनसम्मको त्रैमासमा ७ प्रतिशत (वार्षिक दर) घटेको थियो । तर बजारकै अग्रणी कम्पनी टाटाको विक्रीमा भने भारी गिरावट देखिएको हो ।

    टाटाले यो सालको जुलाइमा जम्मा ५ हजार २७ युनिट इलेक्ट्रिक कार विक्री गरेको थियो । जबकी गत सालको जुलाइमै उसले ६ हजार ३२९ युनिट ईभी विक्री गरेको समाचारहरुमा उल्लेख छ । टाटाको पोर्टफोलियोमा नेक्सन ईभी सबैभन्दा अगाडी छ । पञ्च ईभी, टिएगो ईभी, टिगोर ईभी लगायत मोडलका गाडी पनि छन् । टाटा मोटर्सले यही अगस्टमा कर्भ ईभी पनि लञ्च गर्दै छ ।

    तर उसको विक्रीमा आएको कमी र भारतमा बहुसंख्यक ईभी धनिले आफूसँग भएको विद्युतीय कार बेचेर आईसीई (पेट्रोल तथा डिजेलबाट चल्ने) गाडी किन्न खोजेको सर्वेक्षणमा देखिएको छ । यसले दक्षिणि छिमेकी मुलुकको सबैभन्दा ठूलो कार निर्माता कम्पनीले ठूलो धक्का महसुस गर्नु परेको छ ।

    पार्क प्लस ९० नामक संस्थाले गरेको सर्वेक्षणका अनुसार भारतमा कुल ५१ प्रतिशत ईभी मालिकहरुले आफ्नो कार बेचेर पेट्रोल वा डिजेलबाट चल्ने कार किन्न खोजेको विवरण हालैमात्र बाहिर ल्याएको छ । यो संस्थाले भारतका प्रमुख शहरहरुमा स्थित आवासीय एवम् कमर्शियल परिसरमा ‘पार्किङ सोल्युसन’ प्रदान गर्छ ।

    उक्त संस्थाले दिल्ली, मुम्बई र बैङ्गलोरमा लगभग ५०० ईभी मालिकहरुसँग अन्तरवार्ता गरेर उक्त सर्वेक्षण प्रस्तुत गरेको जनाएको छ । प्रमुख शहरका उपभोक्ताको यस्तो मनस्थितिले भारतीय बजारमा विद्युतीय सवारीको विस्तारबारे खासै उल्लासमय प्रतिक्रियाहरु प्राप्त हुन नसकेको देखिन्छ ।

    उनीहरुले मूलभूत रुपमा कारको चार्जिङ पूर्वाधारलाई लिएर चिन्ता जनाएको पार्क प्लसले जनाएको छ । सर्वेक्षणमा सहमागीमध्ये ८८ प्रतिशतले चार्जिङ सुविधाको विषयलाई मुख्य चिन्ता भएको बताएका छन् । भारतमा हालसम्म २० हजारभन्दा बढी चार्जिङ स्टेशन भए पनि त्यो पर्याप्त नभएको उनीहरुको गुनासो रहेको छ ।

    कारको मर्मत सेवा पनि अर्को ठूलो चिन्ताको विषय बनेको छ । विद्युतीय कारमा मर्मतको आवस्यकता कम पर्ने भनिए पनि ७३ प्रतिशत सवारी धनिहरुले मर्मत सम्भार एक मुख्य चिन्ता भएको बताएका छन् । बजारमा सवारी साधन मर्मत सेवामा सक्रीय कामदारहरुलाई ईभीको सामान्य मर्मतसम्बन्धि ज्ञान समेत नभएको पाइएको भन्दै उनीहरुले ईभीलाई हवाईजहाजको ‘ब्ल्याक बक्स’ जस्तो भनेर प्रतिक्रिया दिएका छन्।

    समस्या पहिचान गर्नै मुस्किल पर्ने, साना साना समस्या समाधान गर्ने मेकानिक पनि नपाइने, भनेजस्तो सामान पनि नपाइने र मर्मत शुल्कको बारेमा समेत स्पष्ट चित्र तयार हुन नसकेको जस्ता समस्याले इभी मालिकहरुले दुःख भोग्नुपरेको बताएका छन् ।

    ईभीको अर्को बेफाइदा भने पुनःविक्री हो । सर्वेक्षणमा ३३ प्रतिशत मानिसहरुले आफूसँग भएको कार बेच्न खोज्दा ज्यादै सस्तो मूल्यमा बेच्नुपर्ने अवस्था आएको बताएका छन् । उनीहरुले अनुमान गरेभन्दा सस्तो मूल्यांकन भएपछि कार बेच्न समस्या भएको पनि बताएका छन् ।

    यस्तै समस्याहरु नेपालमा पनि छन् । नेपालमा सरकारले ईभीलाई विशेष छुट दिएर तुलनात्मक रुपमा ज्यादै सस्तो कर लगाउँदा बजारमा ईभीको मूल्य सस्तो परेको छ । पेट्रोलियम गाडीको तुलनामा झण्डै आधा सस्तो भाउमा ईभी चढ्न पाएपछि नेपालीहरुले ब्यापक रुपमा ईभी किनिरहेका छन् ।

    तर उनीहरुले भर्खरै किनेको ईभी विक्री गर्न खोज्दा पनि राम्रो मूल्य नपाएको गुनासो गरिरहेका छन् । यस्तो बेला भारतीय बजारमा ‘राज गरेको’ ईभी ब्राण्ड टाटाले नेपालमा पनि आफ्नो शाख जोगाउन चुनौति थपिएको छ ।

    बजारमा उपलब्ध ईभीहरुमध्ये भारतीय कम्पनीका गाडीहरु डिजाइन र डेकोरेशनका हिसाबले कम आकर्षक देखिएको भन्ने खबरहरु सामाजिक सञ्जालमा देखिन्छन् । तर टाटाका गाडीहरु केही समय अघिसम्म राम्रो अनुपातमा विक्री भइरहेका थिए ।

    भारतमा ईभीको करीब ७० प्रतिशत बजार हिस्सा ओगट्ने टाटा नेपालमा पनि सबैभन्दा धेरै विक्ने ईभी कम्पनी हो । नेपालमा सबग्र अटोमोबाइल्स ब्राण्डमा पनि टाटा सबैभन्दा अगाडी छ । उसको यो ‘नम्बर वान’ स्थान सुरक्षित गर्न चुनौति थपिएको हो त ? यसबारे अहिले नै स्पष्ट भइसकेको छैन ।

    तर खासगरी ईभी बजारमा चिनियाँ ब्राण्डहरुको आक्रामक विस्तार र उनीहरुको इन्नोभेसनसँग जुध्न टाटाले ठूलै संघर्ष गर्नुपर्ने अवस्था बन्न थालेको अटो व्यवसायीहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images