काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ९४.५३ अंकले बढेर २ हजार ८६०.९१ विन्दुमा आइपुगेको छ । यसअघि पटक पटक गरी २ हजार ८०० विन्दुमा परीक्षण गरेको नेप्से सूचक २ हजार ७०० को मनोवैज्ञानिक विन्दुलाई छेडेर अघि बढेको हो । नेप्से सूचकलाई कारोबार रकमले पन उत्तिकै साथ दिइरहेको छ ।
यो दिन ३३० वटा कम्पनीको ६ लाख १३ हजार कित्ता शेयर किनबेचहुँदा २५ अर्ब ६० करोड रुपैयाँ अर्थात् हालसम्मकै उच्च कारोबार भएको छ । यसअघिको २३ अर्ब ७१ करोड रुपैयाँको उच्च कारोबारलाई ब्रेक गर्दै यो दिन नेप्सेले नेपालकै धितोपत्र कारोबारमा नयाँ रेकर्ड कायम गरेको हो ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १८.२३ अंकले बढेर ५०१.९१ विन्दुमा पुगेको छ । यो दिन कारोबारमा आएका १३ वटै समूहको शेयर मूल्य बढेका छन् ।
यो दिन लगानीकर्ताहरु जलविद्युततर्फ आकर्षित भएको पाइएको छ । यो दिन जीवन बीमा उपसमूहको शेयरमूल्य सबैभन्दा बढी अर्थात् ४.५५ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्सको शेयरमूल्य ४.४० प्रतिशतले बढेको छ । त्यस्तै लगानी उपसमूहको शेयरमूल्य ४.१२ प्रतिशले बढेको छ।
जलविद्युत उपसमूहको शेयरमूल्य ३.९३ प्रतिशतले बढेको छ । यसअघि सामान्य घटेको वाणिज्य बैंकको उपसमूह पनि ३.३५ प्रतिशतले बढेको छ ।
यो दिन १७ अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको ट । सर्किट लाग्ने कम्पनीमा नेशनल हाइड्रो पावर,नेरुडे मिर्मिर लघुवित्त, हाइड्रो इलेक्ट्रिसिटी,खानीखोला हाइड्रो पावर,आखुँखोला जलविद्युत कम्पनी,अपर तामाकोशी हाइड्रो पावर,शुभम् पावर लिमिटेड, आत्मनिर्भर लघुवित्त,मिडसोलु हाइड्रो,युनाइटेड इदीमर्दीआरबी हाइड्रो पावर,सिंगटी हाइड्रो, रिडी पावर छन् ।
यसका साथै अरुणभ्याली हाइड्रो,एनआइसी एशिया लघुवित्त वित्तीय संस्था,हिमाल दोलखा हाइड्रो पावर, अरुण काबेली,शिवश्री हाइड्रो कम्पनीको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । उच्च अंकले बढेको बजारान कुथेली बुखरी स्मेल हाइड्रो पावर कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
शेयर बजार बढेसँगै लगानीकर्ताको सम्पति अर्थात् बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।





















