images
images
  • भियतनामको अपार्टमेन्टमा आगलागी हुदा १४ जनाको मृत्यु, ६ घाइते

    एजेन्सी- भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागीमा हुँदा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ।

    भियतनाम समाचार एजेन्सीका अनुसार बिहीबार राति करिब १२ः३० मा आगो लागेको थियो र धेरै विस्फोटको आवाज पनि सुनिएको थियो। आगो निभाउन एक घण्टा लागेको थियो।

    आगलागी हुँदा भवनमा घर मालिकका परिवारका सात र अन्य १७ जना भाडामा बस्नेसहित २४ जना थिए।

    मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप एक हजार ९६२ डलर र घाइतेलाई एक हजार १७७ डलर दिने अधिकारीहरूले बताएका छन्। घाइतेको अवस्था स्थिर छ।उनीहरूको उपचार हनोई ट्रान्सपोर्ट अस्पतालमा भइरहेको छ।

    गत वर्ष सेप्टेम्बरमा हनोईमा भएको आगलागीका क्रममा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको थियो । साँघुरो गल्लीका कारण आगो निभाउन र प्रभावितको उद्धार गर्न ढिलो हुँदा ठूलो क्षति भएको हो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images