images
images
  • आन्तरिक राजनीति र कमजोर व्यवस्थापनले थलिदै निगम, ६ पाइलटले दिए राजीनामा

    काठमाडौं-सेवा सुविधा र नियमित उडान भर्न नपाएको लगायतका कारण देखाउँदै नेपाल वायुसेवा निगमका ६ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । निगममा कार्यरत ३ जना स्थायी र ४ जना करारका पाइलटहरूले राजीनामा दिएपछि निगममा कार्यरत अन्य पाइलट, को–पाइलट र एयर होस्टेजसमेतले सेवा सुविधा र कार्यस्थलको वातावरणको विषयलाई लिएर व्यवस्थापनको ध्यानाकर्षण गराउने तयारी थालेका छन् ।

    राजीनामा दिएका वाइड बढी विमानका वरिष्ठ पाइलटहरू सञ्जय पौडेल, प्रशान्त श्रेष्ठ र न्यारो बढीका पाइलट मनिश विक्रम शाह स्थायी जागिरे हुन भने को–पाइलटहरू रचेन्द्र जोशी, प्रनव मल्ल र रेश्मा सिजापति करारका कर्मचारी हुन् । करारका कर्मचारीहरूको सेवा अवधि अझै एक वर्ष बाँकी रहेको निगमको भनाइ छ ।

    उनीहरूले निगमको अपरेसन विभागको कार्यशैली, नियमित उडान नपाएको, विमान लामो समय ग्राउण्डेड भएका कारण वृत्ति विकासमा असर परेको लगायतका कारण देखाएर राजीनामा बुझाएका हुन् । पाइलटहरूले राजीनामा बुझाएपछि निगमको अपरेसन विभाग प्रमुख सुवास रिजालले पुर्न बिचार गर्न भन्दै पाइलटहरूलाई पत्राचार समेत गरेका छन् ।

    निगमको मानव संसाधन विभाग प्रमुख अशोक सिग्देलले पाइलटहरूको राजीनामा दिएको पुष्टि गर्दै अपरेसन विभागका निर्देशकका तर्फबाट राजीनामा पुर्न बिचार गर्न पत्राचारसमेत भइसकेको पुष्टि गरेका छन् । ‘पाइलटहरूले दिएको राजीनामा त मैले देखेको छैन तर अपरेसन विभागका प्रमुखबाट राजीनामा पुर्न बिचार गर्न लेखेको पत्र भने मानव सुशासन विभागलाई प्राप्त भएको छ,’ सिग्देलले भने ।

    राजीनामा दिएका एक जना वरिष्ठ पाइलटका अनुसार लामो समयदेखि विमान उडान नपाउँदा वृत्ति विकाशमा असर परेको, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको व्यवहार, भुक्तानीको समस्याजस्ता कारण राजीनामा दिनुपर्ने अवस्था आएको हो ।

    निगममा हाल ६० जना भन्दा बढी पाइलट र को पाइलट कार्यरत छन् । तर तीमध्ये अधिकांश कामविहीन अवस्थामा छन् । निगमको जहाज महिनामा ८० घन्टा उडान गर्ने पाइलटले ६ लाख रुपैयाँसम्म पारिश्रमिक बुझ्छन् । तर हाल वरिष्ठ पाइलटले समेत महिनामा मुस्किलले ४५ घन्टा उडान भर्न पाउँछन् । सो बापत उनीहरूले अढाई देखि ३ लाख रुपैयाँ तलब पाउँछन् ।

    निगमकै तुलनामा निजी क्षेत्रका विमानले ८० घन्टा अन्तर्राष्ट्रिय उडान गर्दा १३ देखि १४ लाख रुपैयाँ सम्म पारिश्रमिक दिइरहेका छन् । आन्तरिक उडानमै पनि दुर्गम क्षेत्रको उडान भर्नेले १० लाख भन्दा बढी र सुगममा उडान भर्नेले सात लाख रुपैयाँसम्म पारिश्रमिक पाइरहेका छन् ।

    nepal airline

     

    निजीको तुलनामा अति न्यून पारिश्रमिक हुने र चरम राजनीतिका कारण काम गर्ने वातावरण नै नभएको भन्दै पाइलटहरूले जागिर छाड्न खोज्ने क्रम बढेको पाइलटहरू बताउँछन् ।

    निगमका विमान ग्राउण्डेड भएको बेला विदेशी कम्पनीलाई क्रु भाडामा लगाउन पाइलटहरूले गरेको आग्रह पनि नमान्ने र कानुनले दिएको बेतलबी बिदा बसेर बिदा अवधिभर अन्य विमान उडान भर्न पनि नदिने नीतिका कारण पाइलट पलायन बढ्दै गएको निगमका कर्मचारीहरू बताउँछन् ।

    ककपिटमा विभेद, व्यवस्थापनमा लापरबाही
    राष्ट्रिय ध्वजावाहक निगम चरम व्यवस्थापकीय फितलोपन, जहाजहरूको निरन्तर ग्राउन्डिङ, ५० अर्ब रुपैयाँभन्दा बढीको ऋण भार र अनुभवी पाइलटहरूको तीव्र पलायनका कारण गम्भीर संकटमा फस्दै जान थालेको छ ।

    आवश्यक मर्मत र पार्टपुर्जा अभावमा जहाजहरू महिनौँ ग्राउन्डेड भएर उडान तालिका अस्तव्यस्त बनेको छ भने विदेशी र स्वदेशी पाइलटबीचको चरम पारिश्रमिक विभेदले दक्ष जनशक्ति धमाधम राजीनामा दिएर बाहिरिन थालेका छन् ।

    विगत पाँच वर्षमा निगमबाट ३५ भन्दा बढी स्थायी तथा करारका पाइलटहरूले राजीनामा दिइसकेका छन् । निगमभित्र एउटै ककपिटमा समान जिम्मेवारी सम्हाल्ने विदेशी र स्वदेशी पाइलटबीचको सेवा–सुविधामा ३ देखि ५ गुणासम्मको अन्तर रहेको पाइलटहरूको गुनासो छ ।

    निगमले अन्तर्राष्ट्रिय एजेन्सीमार्फत ल्याउने विदेशी कनट्र्याक्ट पाइलटलाई मासिक १० देखि १५ हजार अमेरिकी डलर ९करिब १३ देखि २० लाख रुपैयाँ० ग्यारेन्टीसहित भुक्तानी गरिरहेको छ । उनीहरूका लागि तारे होटेलमा आवास, निःशुल्क हवाई टिकट र सम्पूर्ण स्थानीय कर निगमले नै बेहोर्छ ।

    नेपाली पाइलटहरूले ३६ प्रतिशतसम्म आयकर तिरेर हाल मासिक ३ देखि बढीमा ५ लाख रुपैयाँ मात्र पैसा पाइरहेको उनीहरूको गुनासो छ । नेपाली पाइलटको आम्दानी उडान घण्टामा निर्भर हुने भएकाले जहाज ग्राउन्डेड हुँदा उनीहरूको पारिश्रमिक कम हुने भए पनि विदेशीको हकमा यो व्यवस्था लागू हुँदैन । यसलाई पाइलटहरूले विभेद मानेका छन् ।

    हाल निगमसँग व्यावसायिक उडानका लागि २ वटा वाइड बडी, २ न्यारोबडी र २ वटा ट्विनअटर मात्र छन् । मर्मतलगायतका प्राविधिक प्रक्रियामा हुने ढिलाइका कारण यी जहाज पनि पालैपालो ग्राउन्डेड हुने गरेका छन् । नियमित ‘सी–चेक’ का लागि इटाली पठाइएको एउटा वाइड बडी जहाज अहिलेसम्म बनेको छैन भने अर्को वाइड बडी पनि इन्जिन समस्याले जापानको नारितामै ग्राउन्डेड छ ।

    सञ्चालन घाटा देखाएर सन् २०२० देखि पूर्ण रूपमा ग्राउन्डेड गरिएका ६ वटा चिनियाँ जहाज (२ एमए–६० र ४ वाई–१२ई) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा वर्षौंदेखि थन्किएर बसेका छन् ।वाइडबडी र न्यारोबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको करिब ५० अर्ब रुपैयाँ ऋणको साँवा–ब्याजसमेत निगमले नियमित रूपमा तिर्न नसकेको कर्मचारीहरू बताउँछन् ।

    यो पनि हेनुहोस् : नेपाल वायुसेवा निगममा अनियमितता: ७ वर्ष अघि नै विवादित निर्देशकलाई फेरि होटल छनोटको जिम्मा

    यो पनि हेनुहोस् : बिना प्रतिस्पर्धा मलेसियामा क्रु ट्रान्सपोर्ट छनोट, म्याद सकिएपछि पनि सम्झौता बिनै निरन्तर सेवा

    प्रतिक्रिया दिनुहोस्
    images
    images