काठमाडौं- बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आगामी जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका छन् ।
नियमित तालिकाअनुसार सन् २०२५ मा निर्वाचन हुनुपर्नेमा प्रधानमन्त्री सुनकले ७ महिनाअघि नै चुनावको मिति घोषणा गरिदिएका हुन् । संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको उनले बताएका छन् ।
उनले बुधबार राति लण्डनस्थित डाउनिङ्ग स्ट्रिटबाट चुनावको मिति घोषणा गरेको बीबीसीले जनाएको छ । अप्रत्यासित रुपमा चुनावको मिति घोषणा गर्दै उनले बेलायतका लागि आफ्नो भविष्य चुन्ने समय आएको बताए ।
बीबीसीका अनुसार राजा चार्ल्स तेस्रोलाई चुनावको मितिबारे जानकारी गराउनासाथ शुक्रबार विघटन हुनेछ । त्यसपछि चुनावी प्रक्रिया सुरु हुने छ । संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ।
प्रधानमन्त्री सुनकले २०२२ अक्टुबरमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । बेलायतमा जनवरी २०२५ मा आम चुनाव हुने सम्भावना थियो । चुनावको मिति घोषणाका लागि उनलाई डिसेम्बर महिनासम्म समय थियो ।


विश्व खबर 


















