
वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा मात्र डढेलो तथा आगलागीका घटनामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ ।
आगलागीबाट १ हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका थिए । त्यस्तै, यस अवधिमा चट्याङबाट आठ जना, उचाइमा लेक लागेर दुई, बाढी र जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको थियो । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलोपटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ ।
नेपालमा विशेष गरी तराई र भित्री मधेशका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ । डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आसमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ ।
वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यत्तिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठुटाबाट समेत वन डढेलो लाग्ने गरेको उनले जानकारी दिए । कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुश्चक्रीय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्