
कमलामाई (सिन्धुली) । सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका-७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन् ।
प्रधानमन्त्री दाहालले टिबीएम स्विच थिचेपछि आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका-२ कुसुमटारबाट सुरुङ खन्न पसेको टिबीएम मेसिन सुनकोशी नदी किनार कानढुङ्ग्रीबाट बाहिर निस्किएको थियो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनअन्तर्गत कमलामाई-२ कुसुमटारदेखि सुनकोशी-७ कानढुङ्ग्रीसम्म सुरुङ रहेको छ । यसको क्षेत्रफल १३ दशमलव ३ किलोमिटर छ ।
उच्च प्रविधिबाट ५.५ डायमिटरको सुरुङ मार्गमा गुणस्तरीय सेगमेन्ट प्रयोग भएको आयोजनामा कानढुङ्ग्रीस्थित सुनकोशी नदीमा ३० मिटर उचाइ र एक सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत पानी कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर उचाइबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ (कोभेक) ले पाएको हो । यस कम्पनीले यसअघि भेरी बबई डाइभर्सनमा सुरुङ निर्माणको काम गरिसकेको छ । सुनकोशी मरिणमा सुरुङ खन्न मात्र कोभेकले रु १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का लिएको प्रमुख बरालले जानकारी दिए ।
नदीमा बाँध बाँधेर सुनकोशीको पानी मरिण खोलामा खसाली मधेसका पाँच जिल्लामा वर्षैभरि सिँचाइ तथा विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार काम सुरु भएको हो । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । आयोजनाको कुल लागत रु ४९ अर्ब ४२ करोड रहेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्