images
images
  • स्थायी बसोबासका लागि एक वर्षमा ७१ हजार ९ सय १५ नेपाली विदेश प्रस्थान

    काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९ सय १५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन् ।

    आइतबार राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमनको विषयमा गरेको छलफलमा अध्यागमन विभागले यस्तो जानकारी दिएको हो । विभागले सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९ सय १५ जना रहेको जानकारी दिएको छ ।

    अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८ सय ३८ जना नेपाली नागरिक विदेश जाँदा १२ लाख ६३ हजार ४ सय ६९ भित्रिएको बताए । पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेको बताउनु भयो । तामाङका अनुसार यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५ सय ४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३ सय ४९, स्थायी बसोबास भिसामा ७० हजार ९ सय १५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६ सय १३ जना नेपाली विदेश गएका छन् ।

    पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २ सय ४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्नेगरी गएको उनले आँकडा प्रस्तुत गरे । महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको संख्या समावेश नभएको बताए ।

    सन् २०२३ मा ८ लाख ८ हजार ४ सय १५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश गएको सुनाउँदै उनले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४ सय ८५ जना नेपाली विदेशमा रहेको जानकारी गराए । भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५ सय १५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको छ ।

    सन् २०२३ मा विभिन्न कारणबाट ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको पनि बैठकमा जानकारी गराइयो । सन् २०१७ मा ५सय ५९, २०१८ मा ६ सय ७८, २०१९ मा ६ सय ७१, २०२० मा ३ सय ३२, २०२१ मा ३ सय ८ र २०२२ मा ५ सय ७० जना विदेशी नागरिकलाई विभिन्न कारणबाट नेपालबाट निष्कासन गरिएको भन्दै तामाङले गैरआवसीय नेपाली नागरिकता लिएका नेपाली मूलका विदेशीहरुको भिसा शुल्क सम्बन्धमा स्पष्ट नभएकाले समस्या आएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images