images
images
  • सर्वोच्चको आदेश विपरीत माडी गाउँपालिकाले दियो ‘जनयुद्ध’ दिवसमा बिदा

    रोल्पा । रोल्पाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना निकालेर माघ १७ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार फागुन १ गते बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।

    सूचनामा भनिएको छ, ‘माडी गाउँपालिका, गाउँ कार्यपालिकाको मिति २०५०।१०।१७ गतेको निर्णयानुसार “जनयुद्ध दिवसको उपलक्ष्यमा २०८० फाल्गुन १ गते मङ्गलवारका दिन माडी गाउँपालिका मातहत रहेका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने” निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

    ‘जनयुद्ध’ दिवसमा बिदा दिने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चले संक्रमणलीन न्याय प्रभावित हुनसक्ने तथा द्धन्द्धपीडितहरूको भावना चोट पर्न सक्ने भन्दै ‘जनयुद्ध’ दिवसमा बिदा दिने निर्णय खारेज गरेको हो । तर, अदालतको आदेश विपरीत गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष अमर सिंह घर्तिमगरले भने, ‘बिदाको विषयमा धेरै बहस र छलफल गर्न जरुरी छैन । हामीले पहिलेदेखि नै उक्त दिन बिदा दिँदै आएका थियौँ । सोही अनुसार अहिले पनि दिएका हौँ । अदालतको आदेशले फरक पर्दैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images