images
images
  • ललितानिवास जग्गाको मुद्दा चार वर्षदेखि अलपत्र

    काठमाडाैं। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको विषयमा चार वर्षअघि विशेष अदालतमा दायर मुद्दा अझै टुंगिएको छैन। विशेषले काठमाडौं जिल्ला अदालत, जिल्ला प्रशासन र गृह मन्त्रालयबाट झिकाउन आदेश गरेका विभिन्न प्रमाण र अभिलेख उपलब्ध नहुँदा सुनुवाइ नै रोकिएको हो।

    विपक्षीले ती कागज नै प्रमाण रहेकाले उपलब्ध गराएर मात्र सुनुवाइ अघि बढाउन चाहेका छन् । तर, सम्बद्ध निकायले पुराना कागज भएका कारण नभेटिएको र खोजी कार्य जारी रहेको जवाफ पठाएका छन् । त्यसैले, सुनुवाइको प्रक्रिया सुरु भएर पनि रोकिएको छ।

    शारदाप्रसाद त्रिताल संयोजक रहेको समितिको प्रतिवेदनले गरेको सिफारिसबमोजिम अनुसन्धान गरी ललितानिवास प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा चलाइएको थियो । अख्तियारले २२ माघ ०७६ मै यो मुद्दा दायर गरेको थियो । त्यसपछि विशेषले जिल्ला अदालतलाई ३ फागुन ०७९ मा केही प्रमाण झिकाउने तथा बुझ्ने आदेश गरेको थियो । उक्त आदेशमा भनिएको थियो, ‘तत्कालीन विशेष अदालतबाट मिति २०/३/२२ मा सुवर्णशमशेर जबरालाई कैद र सम्पत्ति सर्वस्वसहित जफत गर्ने भनी फैसला भएको भन्ने प्रतिवादीका कानुन व्यवसायीहरूबाट भनाइ रहेको हुँदा उक्त विशेष अदालतबाट मिति २०१९/३/२२ मा भएको फैसलासहितको मिसिल काठमाडौं जिल्ला अदालत वा जहाँ छ त्यहाँबाट झिकाउनू ।’

    तर, उक्त आदेशअनुसारका कागजात जिल्ला अदालतले पठाएन । जिल्लाले उक्त फैसला नै नभेटिएको जवाफ पठायो । यस विषयमा गत २४ मंसिरमा न्यायाधीशत्रय खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गरेको आदेशमा यसअघिको आदेश र अदालतको जवाफबारे भनिएको छ, ‘… फैसलाको सक्कल मिसिल खोजतलास गर्दा र गर्न लगाउँदा फेला नपरेको भनी व्यहोरा लेखी आएको देखिँदा सो सक्कल मिसिल काठमाडौं जिल्ला अदालतमा नरहने भए के कहाँ  रहन्छ ?’ यसको जवाफसमेत जिल्ला अदालतसँग मागिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images