images
images
  • चिताबाट युवतीको शव नियन्त्रण, पतिसहित ३ जना पक्राउ

    जनकपुरधाम- सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।

    सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणम लिएको हो ।

    बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।

    घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

    पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए ।

    परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ ।

    थप कुरा पोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।

    आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए ।

    घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

    युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखेको छ । सर्लाहीकै कविलासी गाउँपालिका–३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।

    माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको दाबी गरेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्

    images