images
images
  • ‘एचपीभी खोप’ लगाउने समयावधि थप

    काठमाडौँ- पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ अभियानको समयावधि दोस्रो पटक थप गरिएको छ । किशोरीलाई लगाइने एचपिभि अभियानमा अझै लक्षित किशोरीको ५० प्रतिशतले खोप लगाउन बाँकी रहेकाले पाँच दिन समय थपिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले बनाएको छ ।

    अब असोज ६ गते शनिवारदेखि १० गते वुधबारसम्म सम्बन्धित खोप केन्द्रबाट खोप लगाउन पाइनेछ । यसअघि पनि पहिलो पटक असोज ५ गतेसम्म समय थप गरिएको थियो ।

    देशभर १४ वर्ष नाघेका १५ वर्ष नपुगेका किशोरीहरूको संख्या साढे तीन लाख रहेको छ । ती मध्ये डेमोष्ट्रेसन (नमूना) स्वरूप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ९ हजार ९ सय ९९ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको थियो ।

    खोप २०६५ साल भदौ ३० देखि २०६६ भदौ ३० सम्म जन्मेका किशोरीलाई दिइएको छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार लक्षित किशोरीमध्ये कोशी प्रदेशमा ८४ प्रतिशत, मधेसमा ५६ प्रतिशत, वागमतीमा २६ प्रतिशत, गण्डकीमा ५३ प्रतिशत, लुम्बिनीमा २८ प्रतिशत, कर्णालीमा ७३ प्रतिशत र सुदूरपश्चिममा ५० प्रतिशतले एचपीभि खोप लगाएका छन् ।

    सरकारले गत भदौ २७ गतेबाट थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालवाट एचपिभी खोप अभियानको डेमोष्ट्रेसन गरेको थियो ।

    कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।

    खोप पहिलो मात्रा दिएको ६ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images