काठमाडौं- माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारी (प्रतीक्षा)को पदावधि सरकारले तीन वर्ष थपिदिएको छ ।असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको पदावधि अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयबाट थप गरिएको हो ।
धादिङ घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले रक्षा मन्त्रालयबाट अधिकारीको पदावधि मन्त्रिपरिषद् बैठकबाट थपिएको जानकारीसहितको पत्र नेपाली सेनालाई प्राप्त भएको जानकारी दिए ।
‘उहाँको विशेष पद सिर्जना गरेर सहायक रथीमा पदोन्नती भएको थियो । चार वर्षे त्यो पदावधि असोज १ गते सकिने भए पनि पुनः तीन वर्ष थपिएको पत्र मन्त्रालयबाट प्राप्त भएको छ,’ सैनिक प्रवक्ता एवम् सहायक रथी भण्डारीले भने ।
यसअघि सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा अधिकारीको पदावधि थपिएकोबारे जानकारी दिएकी थिइनन् ।
माओवादी लडाकुहरुको सेनामा समायोजन हुँदा अधिकारीले उपसेनानीको दर्जा पाएका थिए । माओवादी लडाकुहरुले पाएको यो सबैभन्दा उपल्लो दर्जा हो ।त्यसको केही समयपछि नै अधिकारी महासेनानी (कर्णेल) बनेका थिए ।
२०७६ असोज १ गतेको मन्त्रिपरिषद बैठकले उनलाई सहायक रथीमा बढुवा गरेको थियो ।त्यतिबेला नेकपा माओवादी केन्द्रसहितको सरकारको प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थिए ।
ओली नेतृत्वको सरकारले सैनिक नियमावली अनुसार एकपटकका लागि सहायक रथीमा बढुवा दिन सकिने व्यवस्थामा टेकेर अधिकारीलाई विशेष पद सिर्जना गरी बढुवा गरेको थियो ।अधिकारीको पदावधि सकिएपछि विशेष पद स्वतः खारेज हुने भए पनि सरकारले उनको जागिर पुनः तीन वर्ष थपिदिएको छ ।





















