images
images
  • कोशीबाट सत्तामा फर्कियो एमाले, आजै मुख्यमन्त्रीमा कार्की नियुक्त गर्ने

    विराटनगर-  कोशी प्रदेशमा आजै (शुक्रबार) नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । सर्वोच्च अदालतको आदेश प्राप्त हुनासाथ नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको हो ।

    सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।

    उनले आजै मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् ।

    सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कोशी प्रदेशको सबैभन्दा ठूलो दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । अदालतको पत्र प्राप्त हुनसाथ मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

    ‘सर्वोच्चको फैसलाको पत्र प्राप्त भएको छैन,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले भने, ‘फैसला आउनसाथ प्रदेश प्रमुख परशुराम खापुङले आजै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।’

    सर्वोच्चले यसअघिका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई बदर गरिदिएको थियो । थापा पदमुक्त भएसँगै संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

    एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुखको कार्यालयबाट अहिलेसम्म कुनै जानकारी नआएको बताए । उनी एमाले मोरङको पार्टी कार्यालयमा प्रदेश प्रमुखको कार्यालयको पत्र कुरेर बसिरहेका छन् ।

    यसअघि कोशी प्रदेश सरकारको चौथो मुख्यमन्त्रीको रूपमा २०७९ पुस २४ गते नियुक्त भएका कार्की १७४ दिनमा बिदा भएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images