सुर्खेत- डोल्पामा रहेको नेपाली सेनाको ब्यारेकबाट निस्किएका सेनानी (मेजर) विमल पण्डितको अवस्था अझै अज्ञात रहेको छ । डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत ३८ वर्षीय पण्डित सम्पर्कविहीन भएको ११ दिन पुग्दा पनि उनी सम्पर्कमा आएका छैनन्।
डोल्पा ब्यारेकमा कार्यरत सेनानी विमल पण्डित । उनी यहीँ भदौ १० गतेदेखि त्रिपुराकोटबाट सम्पर्कविहिन बनेपनि हालसम्म कुनै पत्तो लागेको छैन् ।
इभिनिङ वाकमा गार्डसमेत नलिई ब्यारेकबाट यहीँ भदौ १० गते साँझ निस्केका मेजर सोही दिनदेखि सम्पर्कविहीन छन्। सम्पर्कविहिन भएको भोलीपल्टबाट खोजविन थालेका सुरक्षा निकायले पण्डित हराउनुको कुनै कारणसमेत फेला पर्न सकेका छैनन् ।
सेनानी पण्डित सम्पर्कविहिन भएको त्रिपुराकोट क्षेत्रका सबै ठाउँमा पुगेर सुरक्षा निकायले खोज्दा पनि कुनै पत्तो लाग्न नसकेको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्चर पोख्रेलले जानकारी दिए ।
उनकाअनुसार त्रिपुराकोट बाहेक जुम्ला, दुनैदेखि डोल्पाको तल्लो क्षेत्र, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा खोजी गर्दा पनि सम्पर्कविहिन हुनुको कुनै सुराक भेटिएको छैन् ।
‘उहाँलाई खोज्नु पर्ने सबै ठाउँमा खोजविन गरेर थप क्षेत्रमा खोज्न अहिले पनि सुरक्षाका चार वटै टोली परिचालन छ,’ पोख्रेलले भने, ‘रातदिन नभनी डोल्पाका प्रत्यक घरघर, खोला–खाल्सा सबैमा सुरक्षाकर्मी पुगेका छन्। तैपनि पत्ता लाग्न सकेको छैन ।’
मेजर पण्डितलाई खोज्न नेपाली सेनाको जुम्लाबाट प्रमुख सेनानी सुमन श्रेष्ठसहितको टोली एक हप्तादेखि डोल्पामा छ । स्वभावले कमै बोल्ने बानी भएका मेजर पण्डित मानसिक हिसाबमा ठीक रहेकाले घरायसी विवादले कतै गएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्। तर पण्डितका परिवारले घरपरिवारसँग कुनै विवाद नभएकाले कि सास नभए लाश पनि पत्ता लगाइदिन आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेल बताउँछन् ।
कागेश्वरी नगरपालिका डाँछी, ‘काठमाडौं घर भएका मेजर पण्डित त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोटसम्म पुगेको खुलेपनि त्यहाँबाट कहाँ गए भन्ने कुनै पत्तो सुरक्षा निकायले पाउन सकेको छैन् ।
उनी त्रिपुराकोट पुगेपछि नगद २६ हजार सटही गरेर झोला पनि किने, मोबाइल चार्ज गरेको र त्यसपछि एक होटेलमा पुगेर कोठा छ–छैन भनी सोधेको अनुसन्धानबाट खुलेको छ पोख्रेल बताउँछन् । त्यसपछि त्यहाँबाट निस्किएका उनी कहाँ गए भन्ने कुनै पत्ता लाग्न सकेको छैन् ।





















