कठमाडौं- कुनै पनि खेलमा हारेको टीमको खेलाडीलाई जितेको टीमको खेलाडीले मेडल लगाइदिएको दृश्य बिरलै देखिन्छ । हिजो नेपाल–भारतबीचको पहिलो एक दिवसीय क्रिकेट म्याचपछि यस्तै अनौठो दृश्य देखियो ।
श्रीश्रीलंकाको पल्लेकेले रंगशालामा भएको खेल भारतले १० विकेटले जितेको थिए । वर्षाले प्रभावित खेलमा नेपालले सन्तोषजनक ब्याटिङ गरे पनि गतिलो बलिङ गर्न नसक्दा ठूलो हार व्यहोर्यो । यद्यपि, खेलपछि नेपाली टिमको प्रशंसा भइरहेको छ । भारतीयहरूले पनि नेपाली ब्याट्सम्यानले साहसिक प्रदर्शन गरेको भन्दै सराहना गरेका छन् ।
मध्यराति खेल सकिएपछि नेपाली प्रशिक्षक मोन्टी देसाईले खेलाडीहरुलाई भारतीय ड्रेसिङ रुममा लगे। जहाँ कप्तान रोहित शर्मा, विराट कोहली र प्रशिक्षक राहुल द्रविडहरु उपस्थित थिए।
त्यसक्रममा देखिएको अनौठो दृश्य के थियो भने भारतीय खेलाडीहरुले नेपाली खेलाडीहरुलाई मेडल लगाइदिए।
खासगरी कुनै पनि खेल जित्ने टिमका खेलाडीहरुलाई मेडल लगाइदिने चलन छ। भारतीय नागरिकसमेत रहेका नेपाली प्रशिक्षक देसाईले त्यहाँ फरक अभ्यास गरे।
जहाँ देसाईले दुई देशका खेलाडीलाई घुलमिल गराउने क्रममा मेडललाई प्रयोग गरेका हुन्। जसलाई नेपाल क्रिकेट संघ क्यानले पनि एउटा राम्रो अवसर भनेर भिडिओ सेयर गरेको छ।
भारतीय ड्रेसिङ रुममा प्रशिक्षक द्रविड, खेलाडीहरु विराट कोहली र हार्दिक पान्ड्यासहितले नेपाली खेलाडीलाई मेडल लगाइदिएका छन्।
भारतविरुद्ध उत्कृष्ट खेलेका सोमपाल कामी, आशिफ शेख र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीले मेडल लगाइदिएका छन्।
यो क्षणलाई क्यानले पनि अविस्मरणीय भनेको छ। ‘क्रिकेट एक यस्तो खेल हो, जहाँ केबल आफ्नो ब्याटिङ र बलिङको खेल कौशल मात्रै होइन, खेल चरित्र देखाएर पनि नायक बन्छन्। यस अद्भुत समयका लागि बीसीसीआई र भारतीय क्रिकेट टिमलाई हार्दिक धन्यवाद!’
उक्त भेटघाटपछि नेपाली खेलाडीहरुले भारतीय खेलाडीसँगका सेल्फी र तस्बिर सार्वजनिक गरेका छन्। सोमपाल कामीले विराट कोहलीबाट जुत्तामा अटोग्राफ लिँदै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनले विराट एक क्रिकेटर मात्रै नभएर नायक भएको बताएका छन्।





विश्व खबर 


















