काठमाडौं – नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन। नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ। नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन ।
नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत वर्ष नेपालबाट निर्यात हुने दर एकै आर्थिक वर्षमा २१ दशमलव ४ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा २ खर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएकोमा गत वर्ष २०७९–८० मा ४३ अर्ब रूपैयाँले घटेर १ खर्ब ५७ अर्ब रुपैयाँको मात्रै निर्यात भएको तथ्यांक रहेको छ ।
निर्यात घट्नुको प्रमुख कारण नै खाने तेल हो । भारत र अन्य मुलुकबाट पाल्म, तोरी र भटमास आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात गर्ने गरेका कारण निर्यात घटेको हो । अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने मात्र होइन, प्याकेजिङ गरेरै मात्र भारत निकासी गर्ने अन्य वस्तु पनि छन् । सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ ।
गत आर्थिक वर्षमा तोरी मात्रै २४ अर्ब ६ करोड ३ लाखको आयात भएको तथ्यांक छ । यसैगरी कच्चा पाम आयल मात्र २५ अर्ब ९१ करोड ५४ लाख ८७ हजारको आयात भएको देखिएको छ । यसमा पनि प्रशोधित पाम आयलका अन्य कच्चा पदार्थ ३० अर्बभन्दा बढीको आयात भएको देखिएको छ ।
भटमासको तेल पनि १२ अर्ब ६७ करोडको आयात भएको देखिएको छ । गत वर्ष पाम, सूर्यमुखी तथा भटमास तेलसँगै धागो, जुट र जुटका उत्पादन, उनीबाट बुनेका कपडा, अन्य कपडा, कटनका बोरा तथा झोला, जुस, कागज तथा कागजका उत्पादनको निर्यात घटेको छ ।
नेपालले गत वर्ष २० अर्ब ५० करोड रुपैयाँको पाम तेल निर्यात गरेको तथ्यांक रहेकोमा ऊनी गलैंचाको ११ अर्ब ५० करोड रुपैयाँ कुल निर्यातमा हिस्सा ७ प्रतिशत रहेको छ । यसैगरी पोलिस्टर धागो १० अर्ब ५५ करोड रुपैयाँ निर्यातमा हिस्सा ६ दशमलव ७ प्रतिशत रहेको छ ।
भटमासको तेल भने ८ अर्ब ४७ करोड निर्यात भएको छ । यो निर्यात हिस्सामा ५ दशमलव ४ प्रतिशत हो । गत आर्थिक वर्षमा ८ अर्ब २५ करोड रुपैयाँको अलैंची निर्यात भएको छ । यो कुल निर्यातको ५ दशमलव ३ प्रतिशत हो ।
गत वर्ष पाम आयल १० अर्ब ७१ करोड ८९ लाख ५० हजारको निर्यात भएको छ । भटमासको तेल भने ८ अर्ब ४७ करोड ५९ लाख ९२ हजारको भएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।


विश्व खबर 


















