images
images
  • भारतद्वारा नेपालसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौतापत्रको मस्यौदा स्वीकृत

    काठमाडाैं – नेपाललाई भारतीय बजारमा विद्युत् व्यापार गर्न बाटो खुल्ने नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी सम्झौतापत्रको मस्यौदा भारतको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भारत भ्रमणका क्रममा गत १८ जेठमा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापारको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो । तीन महिनापछि भारतको मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेसँगै दुई देशबीच सम्झौतापत्रमै हस्ताक्षर हुने भएको हो ।

    ‘नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतापत्रको मस्यौदा भारतको मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी अनौपचारिक रूपमा आइसकेको छ, औपचारिक पत्र आउन बाँकी नै छ,’ ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले भने, ‘यो एकदमै खुसीको खबर हो ।’

    त्यसो त प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै क्रममा अन्तिम सम्झौता गर्ने तयारी थियो । नेपालले आफ्नोतर्फबाट मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृत गरेर लगेको थियो । सम्झौतापत्रमा ऊर्जासचिवले हस्ताक्षर गर्ने भनेर मन्त्रिपरिषद्बाटै निर्णय भएको थियो । तर, त्यतिवेला भारतले आफ्नो मन्त्रिपरिषद्बाट मस्यौदा स्वीकृत नगरेकाले १८ जेठमा प्रारम्भिक सहमति मात्रै गरिएको थियो ।

    त्यसपछि गत १८ असारमा अन्तिम सम्झौता गर्ने तयारीअनुसार ऊर्जासचिव दिनेश घिमिरे नयाँदिल्ली पुगेका पनि थिए । तर, भारतले आन्तरिक तयारी पूरा भएको भनेपछि त्यतिवेला पनि सम्झौता हुन सकेन । प्रधानमन्त्री नरेन्द्र  मोदीको व्यस्तताका कारण देखाउँदै तयारी नपुगेको बताएको थियो । अब भारतबाट औपचारिक पत्र आएपछि काठमाडौंमै विशेष समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरिने सचिव घिमिरेले बताए ।

    ‘यसबारे औपचारिक पत्र आएपछि भारतीय ऊर्जासचिवलाई हस्ताक्षरका लागि काठमाडौंमा आउन निम्तो गर्नेछौँ,’ उनले भने, ‘सकेसम्म हस्ताक्षर कार्यक्रम छिटो आयोजना गर्नेछौँ ।’ सम्झौतापत्रमा नेपालका ऊर्जासचिव घिमिरे र भारतीय विद्युत्सचिव पंकज अग्रवालले हस्ताक्षर गर्नेछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images